काठमाडौं– इंग्लिस प्रिमियर क्लब हो– टोटेनहम हट्सपर। रियल मड्रिड स्पेनको राजधानी मड्रिड बेस्ड ला लिगा क्लब हो। र, विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले विश्वकपमा छुट्टै देशका रुपमा सहभागी बन्न मान्यता दिएको राष्ट्र हो– वेल्स।
उसो भए यी तीनबीच नाता के भन्ने प्रश्न मनमा आउन सक्छ। यी तीनै ठाउँमा ख्याति कमाएका फरवार्ड हुन्– ग्यारेथ बेल, जसले तीनै टिममा रहेर विश्वभर चर्चा कमाए।
उनी अहिले टोटेनहम हट्सपर फर्किने प्रयासमा छन्। रियलबाट २ घरेलु लिग र ४ च्याम्पियन्स लिगसहित केही अन्य प्रतियोगितामा जितेको मुख्य श्रेय दिन मिल्ने बेल किन फर्कन चाहन्छन् ? उत्तर सजिलो छ– रियलका प्रशिक्षक जिनेदिन जिदानेको योजनामा उनी छैनन्।
उनी किन योजनामा छैनन त् ? त्यो त जिदानेलाई नै थाहा होला। तर, उनको खेलयात्रा बुझ्ने हो भने यी दुईबीचमा बेमेलका कारण बुझ्न सहज होला।
वेल्स राष्ट्रिय यू–१७ टोलीका फरवार्ड वेल २००६ मा इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्टनको सिनियर टिमबाट खेल्न थाले। सन् १९९९ बाटै साउथह्याम्टनको एकेडेमीमा हुर्केका बेलले चाँडै सिनियर टिममा स्थान बनाइहाले। दुई सिजन उत्कृष्ट प्रदर्शन गरेका वेल प्रशिक्षक मार्टिन जोलको नजरमा परे। मार्टिन त्यतिबेला टोटेनहम क्लबका प्रशिक्षक थिए।
मार्टिनकै अगुवाइमा वेल लन्डन क्लबमा आबद्ध बने। उनी सेन्ट म्यारिज रंगशालाबाट टोटेनहम हट्सपरमा पुग्दा यता म्यानचेस्टर युनाइटेको ओल्ड ट्राफोर्डमा क्रिस्टियानो रोनाल्डो फुटबलको उत्कर्षमा थिए। एलेक्स फग्र्युसनको कार्यकालमा लगातार सफलता हात पारिरहेका युनाइटेडको समयमा टोटेनहम पाँचौं स्थानमा थियो। र, बेल टोटेनहमको स्टार।
बेलको नायकत्वमा स्पुर्स २००९–१०, २०११–१२ मा चौथो स्थानसम्म रह्यो। क्लब लिगको उपाधि चुम्न नसके पनि टोटेनहमका अहिलेका फरवार्ड ह्यारी केनजस्तै उनी पनि चर्चाको शिखरमा रहन्थे। २०१३ तिर युरोपियन फुटबल पण्डितहरुले रोनाल्डोभन्दा ४ वर्ष कान्छा खेलाडी उनीपछिका दोस्रो विश्वस्टार हुन लायक छन् भनेर लेखेको सामग्री आज पनि कतै पाइन्छ। उत्कृष्ट लयमा हुँदै २०१३ मा उनले प्रिमियर क्लब छोडे र स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भए।
उनी त्यहाँ अनुबन्ध हुँदा विश्वकै सर्वाधिक महँगो मूल्य रियलले प्रिमियर क्लबलाई तिरेको थियो– ८५ मिलियन पाउन्ड। साथै, कार्लोस एन्सेलोटीको प्रशिक्षणमा पहिलो सिजनमै च्याम्पियन्स लिग जितेर स्पेनमा आफूलाई सावित गरे। मड्रिडको पहिलेका २–३ वर्ष धेरै सुखद रह्यो। उनी स्टार बनेर टिममा रहे। पोर्चुगिज र वेल्सम्यानको स्ट्राइकिङ जोडी समर्थकले खुव रुचाए।
तर, रोनाल्डोपछि विश्वकै दोस्रो स्टार बन्ने फुटबल पण्डितको दाबी खेरै गयो। उनले त्यो प्रमाणित गर्न सकेनन्। जब उनको प्रदर्शन खस्कँदै गयो, रियलमा जम्दै गएको उनको खेलले फुटबल फ्यानलाई आफूतर्फ आकर्षित गरिरहँदा चोटले पनि उनलाई माया गर्न थल्यो।
यद्यपि, २०१६ मा फ्रेन्च फुटबलर क्लबमा आएपछि उनले तीन च्याम्पियन्स लिग उपाधि जिते। २०१८ को फाइनलमा गोल गरे। तर चोटले धेरै खेलमा समावेश हुन नसक्दा नसक्दै प्रशिक्षकसँग उनको सम्बन्ध तिक्ततापूर्ण रह्यो। त्यसैले भन्न सकिन्छ– प्रशिक्षक जिदाने र बेलको सम्बन्ध धेरै कारणले जेलिएको छ।
एउटा भाँचिएको सम्बन्ध
बेल र जिदानेबीच आजको सम्बन्धबारे अध्ययन गर्न दुई वर्ष पछाडि फर्कनुपर्छ। उनीहरुको भाँचिएको सम्बन्धको सुरुवात २०१७–१८ को च्याम्पियन्स लिग फाइनलबाट सुरु भयो, जुन युक्रेनको किवमा भएको थियो।
त्यो फाइनलमा २ गोल गरेर म्यान अफ दि म्याच बनेका बेलले क्लबका प्रशिक्षक र अध्यक्षसँग उपाधि सेलिब्रेसन गरेनन्। जिदानेले फाइनलपछि बेललाई त्यसबेला ‘केही’ भनेका थिए। त्यही विषयलाई लिएर उनले उत्सव नै मनाएनन्। त्यसपछि जिदाने क्लबमा धेरै समय रहेनन्।
लगातार तीन सिजन च्याम्पियन्स लिग जिताएका उनले नयाँ सोचलाई प्राथमिकता दिने भन्दै २०१८ मा क्लबबाट बिदा भए।
उनीहरुबीच वैमनस्यता नवीकरण तब भयो, जब रियलले प्रशिक्षक जिदानेलाई सिजनको बीचमै फिर्ता बोलायो। जुलेन लुप्टेगुइ र सान्टियागो सोलारीको असफल प्रशिक्षणपछि उनी ९ महिनामै क्लबमा फर्किए। जसले पोहोर साल रियलको समर विन्डो (गत सालको) मा पनि प्रभाव पार्यो।
बेलबारे प्रशिक्षकले क्लब छोड्ने कमेन्टसमेत गरे। तर बेल अर्को सिजनका लागि पनि रियलमै रहने भए। उनलाई किन्ने सामथ्र्य कुनै क्लबले गरेनन्। न उनी जान चाहे।
ला लिगाको सिजन सकियो। पुनः सुरु भयो। तर स्थिति उस्तै छ। न प्रशिक्षकले उनलाई स्क्वाडमा राख्न चाहे, न उनले क्लब छोडे।
गत सिजनको च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा त उनी टिममै परेनन्। यस विषयलाई लिएर विश्वभर नै खैलाबैला मच्चियो।
यसै विषयलाई लिएर सिटीविरुद्धका खेलअघि उनलाई गरिएको प्रश्नमा उनले बेलले नै सिटीविरुद्ध खेल्न नचाहेको बताए। ‘मैले उनीसँग व्यक्तिगत रुपमा कुरा गरेको थिएँ। उनी सिटीविरुद्ध खेल्न चाहँदैन थिए,’ जिदानेले भनेका थिए, ‘बाँकी कुरा मेरो र बेलबीच नै रहन दिऔँ। तर उनले खेल्न नचाहेको बताएका थिए।’
बेलले म्यान्चेस्टर गएर पनि च्याम्पियन्स लिगमा खेल्ने अवसर नपाउने देखेपछि उनले आफू सहभागी नहुने बताएको बीबीसीले जनाएको छ। त्यो टिममा नपरेका अर्का खेलाडी जेम्स रोड्रिग्वेज पनि हुन्। रोड्रिग्वेज भने केही दिनअघि मात्र क्लब छोडेर एभर्टन पुगिसकेका छन्।
तर, बेललाई लिएर उनका एजेन्ट जोनाथन वार्नेट र क्लब दुवै मौन थिए। ‘बेल मेरो योजनामा छैनन्’ भन्ने जिदानेको पुरानो भनाइ भने कायमै छ।
‘उनको भविष्य मड्रिडमै छ त ?’ भन्ने प्रश्नमा पछिल्लो महिना जिदानेले भने, ‘मलाई थाहा छैन। अहिले उनी रियल मड्रिडका खेलाडी हुन्। जुन परिवर्तन भएको छैन। उनी हाम्रा खेलाडी हुन्। म यो कुरा र उनी दुवैलाई सम्मान गर्छु। मलाई अरु सबै खेलाडी मनपर्छ।’ जिदाने यसबाहेक थप बोल्दैनन्।
यात्रा जारी छ...
यता ३१ वर्षे खेलाडी रियल मड्रिडका पछिल्ला धेरै उपाधिहरुमा बर्नाबेउमा साथीस्वरुप छन्। क्लब अझै पनि उनलाई राम्रो खेलाडीका रुपमा देख्छ। तर, क्लबलाई यो पनि थाहा छ कि उनी र जिदानेको सम्बन्ध क्लबले बचाउने खालको छैन। त्यो भन्दा पर छ।
यसका बाबजुद पनि बेलको मनमा लस बाल्कोन (मड्रिड) छोडेर जाने मन देखिएको थिएन। तर अहिले भने उनका एजेन्ट बर्नेटले टोटेनहमसँग कुरा भइरहेको बताएका छन्। ‘हामी कुराकानीकै क्रममा छौं,’ उनले बीबीसीसँग भने, ‘बेल अझैसम्म स्पुर्सलाई माया गर्छन् र त्यहाँ बस्न रुचाउँछन्।’
उनको पछिल्लो सिजनको यात्राबारे भन्नैपर्ने एउटा कुरा पनि छ। त्यो हो, एक सिजनमा एउटा क्लबले ३८ खेल खेल्नुपर्नेमा उनले पहिलो रोजाइका खेलाडी भएर एक खेल मात्र खेले। सिजनभरि नै उनले मुस्किलले १०० मिनेट मैदानमा बिताए होलान्। त्यसैले भन्न सकिन्छ, बेलको फुटबल यात्रा जारी छ तर शून्य गतिमा...
४ जना फ्रान्सेली प्रशिक्षक भएको रियलको स्क्वाडमा वेल्समेनलाई कुनै ठाउँ छैन। के उनीहरू बेलको ठाउँमा केलियन एम्बाप्पे ल्याउन चाहन्छन ? एम्बाप्पेले गत हप्ता आउँदो सिजनमा पेरिस सेन्ट जर्मेन(पीएसजी) पीएसजी छोड्न चाहेको बताएपछि रियलका समर्थकले शंका गर्ने ठाउँ प्रशस्त छ।
(एजेन्सीहरूको सहयोगमा)
यो पनि पढ्नुहोस्
रियल मड्रिडका रोड्रिग्वेज एभर्टन जाने