शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लर्ड्स टेस्ट विवादमा, पाकिस्तानले किन दिएको थियो बहिष्कारको धम्की ?

लर्ड्स टेस्ट विवादमा, पाकिस्तानले किन दिएको थियो बहिष्कारको धम्की ?

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं- इंग्ल्यान्ड र पाकिस्तानबीच लर्ड्समा दोस्रो टेस्ट खेल भइरहेका बेला पाकिस्तानले खेल बहिष्कार गर्ने चेतावनी दिएको खुलेको छ।

खेलका आधिकारिक प्रसारक स्काई स्पोर्ट्सले पाकिस्तानका जेलमा रहेका पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरू कासिम र सुलेमान खानको अन्तर्वार्ता प्रसारण गरेपछि पाकिस्तान क्रिकेट बोर्ड असन्तुष्ट बनेको खुलासा भएको छ।

इंग्ल्यान्डका पूर्वकप्तान माइक एथरटनले गरेको अन्तर्वार्तामा इमरानका छोराहरूले आफ्ना बुबाको स्वास्थ्य र कमजोर हुँदै गएको दृष्टिबारे चिन्ता व्यक्त गरेका थिए। पाकिस्तान क्रिकेट बोर्डले खेल प्रसारणमा राजनीतिक विषय समावेश गरिएको भन्दै औपचारिक उजुरी दर्ता गरेको थियो। पाकिस्तानले अन्तर्वार्ता प्रसारण भए आफ्ना खेलाडीलाई दिउँसोको सत्रमा मैदानमा नपठाउने चेतावनी दिएको थियो।

तर स्काई स्पोर्ट्सले लन्च ब्रेकमा अन्तर्वार्ता प्रसारण गर्नुअघि नै रोकिदिएपछि पाकिस्तान आफ्नो चेतावनीबाट पछि हटेको बताइएको छ। पाकिस्तानी टोली दिउँसोको सत्रमा मैदानमा फर्किएको थियो। 

७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन्। भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको छ। उनले आफूविरुद्धका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित रहेको बताउँदै आएका छन्।

यसअघि कपिल देव, सुनील गावस्करलगायत पूर्वअन्तर्राष्ट्रिय कप्तानहरूले इमरानको स्वास्थ्य र उचित उपचारको व्यवस्था गर्न पाकिस्तानी सरकारसँग आग्रह गरिसकेका छन्।

प्रकाशित: Aug 28, 2026| 12:52 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्