काठमाडौं- दसैंको मुख्य दिन विजया दशमी बुधबार मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दसैं मनाउँदै छन्।
नेपालीहरुको महान चाड विजयादशमीमा देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दसैं मनाउने गर्छन्।
बुधबार बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजेको शुभ साइतमा टीका लगाइएको हो। दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत रहेको छ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।