काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि अल नासरले साउदी प्रो लिगमा अल खोलुदलाई ५–३ गोलले पराजित गरेको छ।
गएराति भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा लगातार तीन गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्। यस ह्याट्रिकसँगै उनको व्यावसायिक फुटबल करियरमा गोल संख्या ९८५ पुगेको छ।
खेलको सुरुवात भने अल नासरका लागि सहज रहेन। अल खोलुदका जुलियन डोमिन्गेजले १६औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। तर अल नासरका एन्जेलो गाब्रिएलले २४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि साडियो मानेले ३८औँ मिनेटमा गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा एन्टोइन एसोम्बाले गोल गरेपछि दुवै टोली २–२ को बराबरीमा रहे।
दोस्रो हाफमा भने रोनाल्डोले खेल आफ्नो नियन्त्रणमा लिए। उनले ६६औँ मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्दै अल नासरलाई ३–२ को अग्रता दिलाए। त्यसको ६ मिनेटपछि नै फेलिक्सकै अर्को उत्कृष्ट पासमा हेडरमार्फत गोल गर्दै रोनाल्डोले टोलीको अग्रता ४–२ पुर्याए।
८१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल पूरा गरे। साडियो मानेले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। यससँगै रोनाल्डोले खेलमा ह्याट्रिक पूरा गर्नुका साथै आफ्नो करियरको गोल संख्या ९८५ पुर्याए। उनी करियरमा एक हजार गोलको ऐतिहासिक उपलब्धि हासिल गर्न अब १५ गोल मात्र टाढा छन्।
जितसँगै अल नासरले ११ खेलबाट २८ अंक जोडेको छ र लिगमा दोस्रो स्थानमा छ। त्यस्तै अल खोलुदको भने ११ खेलमा १२ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ।