काठमाडौं। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ।
विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौंलाई ८ विकेटले पराजित गरेको हो।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १७.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।
जनकपुरका लागि मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनाएका थिए भने सैफ हसनले अविजित ४० रन बनाएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौंले १९.३ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो।
काठमाडौंका लागि भिम सार्कीले सर्बाधिक ३३ रन बनाएका थिए भने रशिद खानले १७ र समित पटेलले १३ रन बनाएका थिए। त्यस्तै समित महर्जनले १० रन बनाएका थिए। त्यसैगरी जनकपुर बोल्ट्सका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १८ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै सैफ हसनले २ विकेट लिए भने हरमित सिंह, मोइन अली र ललित राजबंशीले एक एक विकेट लिएका थिए।
पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले दोस्रो खेलमा सहज जित हासिल गर्दै प्रतियोगितामा कमब्याक गरेको छ भने काठमाडौँले हारबाट प्रतियोगितामा शुरुवात गरेको छ।
एनपीएल अन्तर्गत आजै कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुँदैछ।