काठमाडौं- बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना देखिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानका आधारमा असोज १३ देखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज भारतमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवातको प्रभाव नेपालमा अक्टोबर २९ को रातिदेखि सुरु हुने जनाइएको छ।
प्राधिकरणका अनुसार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा अक्टोबर ३० र ३१ मा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। केही स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सम्भावित बाढीबाट प्रभावित हुन सक्ने नदी किनार तथा जोखिमयुक्त स्थानमा नबस्न अनुरोध गरेको छ। मौसम पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ। मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्का बेला सहयोगका लागि १२३४, नेपाल प्रहरीका लागि १००, सशस्त्र प्रहरीका लागि १११४ र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।