काठमाडौं- साउदी अरबले यमनका हुथी विद्रोहीसँग जारी तनाव अन्त्य गर्न एक बिलियन डलर आर्थिक सहयोग दिने प्रस्ताव गरेको खबर सार्वजनिक भएको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार साउदी अरबले आफ्नो भूमिमा आक्रमण रोक्ने सर्तमा हुथीलाई उक्त रकम दिन प्रस्ताव गरेको हो। यसका लागि इरानले मध्यस्थता गरिरहेको बताइएको छ।
समाचारअनुसार साउदी अरबका रक्षामन्त्री राजकुमार खालिद बिन सलमान सोमबार वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका थिए। उनी चढेको सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरिएको छ। वार्तामा पाकिस्तानका सेना प्रमुख आसिम मुनीर, टर्कीको गुप्तचर निकायका प्रमुख इब्राहिम कालिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि सहभागी भएको दाबी गरिएको छ।
साउदी अरबले भने सैन्य दबाबमा परेर युद्धविराम सम्झौता नगर्ने अडान राखेको बताइएको छ। साउदी समर्थित यमनी सरकारबाट हुथीले कब्जा गरेका क्षेत्र फिर्ता गर्नुपर्ने उसको सर्त रहेको छ। हुथीका आक्रमणबाट साउदी अरबका विमानस्थल र तेल पूर्वाधारमा क्षति पुगेको तथा अर्थतन्त्रमा असर परेको समाचारमा उल्लेख छ। यता, होर्मुज जलडमरुमा इरानका आक्रमणका कारण खाडी मुलुकबाट हुने तेल निर्यातसमेत प्रभावित भएको बताइएको छ।
तीन वर्षअघि भएको सहमतिअनुसार साउदी अरबले हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी कर्मचारीको तलब भुक्तानी र आधारभूत सेवा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने तथा हुथीले युद्धविराम कायम राखेर साउदी अरबमाथिका आक्रमण रोक्ने अपेक्षा गरिएको थियो। तर, पुरानो सहमति कार्यान्वयन नभएको आरोप हुथीले लगाउँदै आएका छन्।
सन् २०१५ देखि जारी द्वन्द्वमा आधुनिक हतियार र अमेरिकी सहयोग पाएको साउदी अरबले पनि हुथीलाई पराजित गर्न सकेको छैन। सस्तो ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्ने हुथीका आक्रमण रोक्न महँगा प्रतिरक्षा क्षेप्यास्त्र प्रयोग गर्नुपर्ने भएकाले साउदी अरबको सैन्य खर्च बढ्ने गरेको विश्लेषण गरिएको छ।