काठमाडौं- इजरायलमा आज संसदीय निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान हुनेछ।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण, त्यसपछि सुरु भएका युद्ध तथा सरकारको आन्तरिक र विदेश नीतिलाई निर्वाचनका प्रमुख मुद्दा बनाइएको छ।
पूर्वसैनिक प्रमुख गादी आइजेनकोट र पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटसहित विपक्षी नेताहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी सरकारलाई चुनौती दिएका छन्। हमासको आक्रमण रोक्न असफल भएको विषयमा नेतान्याहुको आलोचना हुँदै आएको छ। उनी करिब १९ वर्ष विभिन्न कार्यकालमा प्रधानमन्त्री बनिसकेका छन्।
निर्वाचनअघि नेतान्याहु र इजरायली सेनाप्रमुख इयाल जमीरबीच इरानमाथि सम्भावित आक्रमणका विषयमा मतभेद भएको खबर सार्वजनिक भएको थियो। नेतान्याहुले सेनाप्रमुखसँग कुनै टकराव नरहेको दाबी गरेका छन्। विपक्षी तथा आलोचकहरूले भने चुनावी लाभ लिन नेतान्याहुले इरानसँगको तनाव बढाउन खोजेको आरोप लगाएका छन्।
यस निर्वाचनले नेतान्याहुको राजनीतिक भविष्यसँगै इजरायलको न्यायपालिका, सरकारको अधिकार र सैन्य सेवासम्बन्धी नीतिको दिशा पनि निर्धारण गर्ने अपेक्षा गरिएको छ। अर्कोतर्फ विश्वभर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहू समर्थकले चुनाव हारिरहेका बेला इजरायलको यस चुनावलाई चासोका साथ हेरिएको छ।