काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको विकल्प नरहेको बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
उनले भने- यो अवस्थाबाट देशलाई पार लगाउन आन्दोलन गर्नुपर्ने अवस्था छ। आन्दोलनले नै शक्ति आर्जन गर्छ। यति अप्ठ्यारो असहज अवस्था छ, त्यसमा आन्दोलन बाहेक अर्को कुराबाट अगाडी जान खोज्यौं भने आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौं। आन्दोलनले टिकाउने हो, आन्दोलनले अगाडी बढाउने हो, आन्दोलनले जिताउने हो।'
ओलीले सरकारले देशमा आतंक फैलाउने र विनाबर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने जस्ता अराजक काम गरिरहेको आरोप लगाए। साथै उनले मोबाइल फार्मिंगबाट सरकार चलिरहेको आरोप लगाउदै विदेशी शक्तिबाट सरकार परिचालित भएको बताए।
उनले पार्टीभित्र देखिने विकृत प्रवृत्ति, अराजकता र अनुशासनहीनता सह्य नहुने उल्लेख गर्दै यसको अन्त्य हुनुपर्ने र पार्टी भित्र अब गुटगत कुरा स्वीकार्य नहुने बताए।