काठमाडौं। अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएपछि इरानमाथि फेरी आक्रमण गर्न सक्ने अड्कलबाजी शुरु भएको छ।
पछिल्लो एक सातामा १० भन्दा बढी अमेरिकी सैन्य मालवाहक विमान दक्षिणी इजरायलका सैन्य विमानस्थलमा अवतरण गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पश्चिम एसियाका अमेरिकी सैन्य कमान्डर एडमिरल ब्राड कुपरसँग ह्वाइट हाउसमा भेट गरेका छन्।
वाल स्ट्रिट जर्नलका अनुसार भेटमा कुपरले इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी गराएका थिए। बैठकमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र संयुक्त सैन्य प्रमुखका अध्यक्ष डान केन पनि सहभागी थिए।
अमेरिकाले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनपछि इरानका ऊर्जा केन्द्र, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाही गर्ने विकल्पबारे छलफल गरिरहेको बताइएको छ।
अमेरिकाले इजरायलसँगै साउदी अरब, कतार, कुवेत र जोर्डनस्थित आफ्ना सैन्य अखडामा पनि विमान तथा सैन्य सामग्री पठाएको छ। सम्भावित आक्रमणअघि हवाई सुरक्षा बलियो बनाउन अमेरिकाले प्याट्रियट क्षेप्यास्त्र प्रणालीसमेत पश्चिम एसिया पठाइरहेको समाचारमा उल्लेख छ।
यसैबीच अमेरिका र इरानबीच वार्ता पुनः सुरु गर्ने प्रयास पनि भइरहेको बताइएको छ। इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको जनाएको छ। तर त्यसको जवाफ दिएको छैन। अर्कोतर्फ, ट्रम्पले उक्त सम्पर्क शान्ति वार्ताका लागि नभई इरानले माग गरेको औषधि तथा अत्यावश्यक सामग्री सहयोगसँग सम्बन्धित रहेको बताएका छन्।
यसैबीच, होर्मुज जलडमरूमध्य नजिक तीनवटा तेलवाहक जहाजमा विस्फोट भएर आगलागी भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले ती जहाजले अनुमति नलिएको समुद्री मार्ग प्रयोग गरेको र सुरक्षा चेतावनी बेवास्ता गरेको दाबी गरेको छ।