बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भागेर अमेरिका पुगेपछि बोल्सोनारोले भने- चुनावमा धाँधली भयो, वास्तविक निर्वाचित राष्ट्रपति म हुँ

भागेर अमेरिका पुगेपछि बोल्सोनारोले भने- चुनावमा धाँधली भयो, वास्तविक निर्वाचित राष्ट्रपति म हुँ

 |  बिहीबार, कात्तिक १२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं- ब्राजिलमा राष्ट्रपतीय निर्वाचनको नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ।

ब्राजिलबाट भागेर अमेरिका पुगेपछि सिनेटर फ्लाभियो बोल्सोनारोले सार्वजनिक पत्र जारी गर्दै आफूलाई ब्राजिलको वास्तविक निर्वाचित राष्ट्रपति दाबी गरेका छन्। उनले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको विजयमाथि प्रश्न उठाउँदै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन्। तर, उनले आफ्नो आरोप पुष्टि गर्ने ठोस प्रमाण भने प्रस्तुत गरेका छैनन्।

फ्लाभियोले पत्रमा निर्वाचनको दोस्रो चरणमा लुलाले पहिलो चरणको तुलनामा एक करोडभन्दा बढी थप मत प्राप्त गरेको दाबी गर्दै यसले शङ्का उत्पन्न गरेको बताएका छन्। उनले मतदानको समय बढाउने निर्णयमाथि पनि प्रश्न उठाएका छन्। यसबाट मतदातालाई फरक–फरक नियमअनुसार व्यवहार गरिएको उनको आरोप छ। निर्वाचन अभियानका क्रममा सरकारी स्रोतसाधनको दुरुपयोग र राजनीतिक प्रभाव प्रयोग गरिएको दाबी गर्दै उनले लुला र उपराष्ट्रपति जेराल्डो आल्कमिनको निर्वाचन विजय रद्द गर्न माग गरेका छन्। यी आरोपका पक्षमा भने उनले प्रमाण दिएका छैनन्।

फ्लाभियोले ब्राजिलको न्यायपालिका र सर्वोच्च अदालतलाई समेत राजनीतिक पक्षपात गरेको आरोप लगाएका छन्। आफूविरुद्ध भइरहेको न्यायिक कारबाहीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै उनले राहदानी जफत गरिएको, विद्युतीय निगरानीमा राखिएको र पक्राउ पर्न सक्ने अवस्थाबारे पत्रमा उल्लेख गरेका छन्। आफ्नो परिवारलाई यस्तो परिस्थितिबाट जोगाउन आफू अमेरिका पुगेको उनले बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईप्रति आभारसमेत व्यक्त गरेका छन्।

अमेरिका पुगे पनि ब्राजिलको राजनीतिबाट आफू अलग नहुने फ्लाभियोले बताएका छन्। उनले अमेरिकाबाटै विपक्षी राजनीतिक शक्तिको नेतृत्व गर्ने घोषणा गर्दै समर्थकलाई एकताबद्ध रहन आग्रह गरेका छन्। लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको रक्षाका लागि शान्तिपूर्ण तथा कानुनी बाटोबाट सङ्घर्ष जारी राख्ने उनको भनाइ छ।

फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्। उनले आफ्ना पिता र अन्य समर्थकविरुद्ध भइरहेको कारबाहीलाई पनि राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। निर्वाचनको नतिजा र न्यायिक प्रक्रियाबारे उनका दाबी सार्वजनिक भए पनि पत्रमा प्रस्तुत आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

प्रकाशित: Oct 29, 2026| 09:14 बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्