सर्लाही। पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन्।
सर्लाहीबाट पूर्व बर्दिबासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरू घाइते भएका हुन्। दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिकाको वडा नं। ९ का ४८ वर्षीय राजेन्द्र राम, बाराकै सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका ७ बस्ने ६३ वर्षीय हरिहर राम घाइते भएका छन्।
त्यस्तै बाराकै कलैया उपमहानगरपालिका २६ बस्ने ३७ वर्षीय नन्दन राम, ३७ वर्षीय उमेश राम, बाराको पचरौता नगरपालिका ७ बस्ने ५५ वर्षीय राम सन्देश राम र बाराकै सिम्रौनगढ नगरपालिका ४ बस्ने ४० वर्षीय नवलकिशोर राम घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेमध्ये सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि एलएस न्युरो अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ।
अन्य घाइतेको मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेका सवारी प्रहरी चौकी फूल जोरमा ल्याएर राखिएको छ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताए।