काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिका कारण भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिको आम्दानी ६ अर्ब ६८ करोड रुपैयाँले घटेको छ। आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/८३ मा उक्त रकम बराबरले आम्दानी घटेको हो।
गत आवमा २७ अर्ब ४७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो। भने, आर्थिक वर्ष २०८१÷८२ मा ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो। आर्थिक वर्ष २०८१÷८२ को तुलनामा गत आवमा १९.५५ प्रतिशतले कम आम्दानी गरेको हो।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीका २७ मध्ये ११ वटा स्टोरमा गम्भीर क्षति पुगेको थियो। बिक्री केन्द्रका पूर्वाधार तथा मौज्दातमा ठूलो क्षति भएपछि केही समय सञ्चालन अवरुद्ध हुँदा कम्पनीको आम्दानीमा प्रत्यक्ष असर परेको हो।
आन्दोलनका क्रममा क्षतिग्रस्त ११ बिक्री स्टोरमध्ये छ वटा पुनः सञ्चालनमा आइसकेका छन्। पुनः सञ्चालनमा आएका बिक्री केन्द्रको मासिक आम्दानी घटनाअघिको अवस्थासँग धेरै हदसम्म समान रहेको जनाएको छ। बाँकी बिक्री केन्द्रहरू पनि सन् २०२६ भित्र क्रमशः सञ्चालनमा ल्याउने योजना रहेको छ।
आन्दोलनका क्रममा भाटभटेनीले करिब नौ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको अनुमान छ। यसमध्ये करिब छ अर्ब रुपैयाँको मौज्दात र तीन अर्ब रुपैयाँको भवन तथा अन्य सम्पत्तिमा क्षति भएको थियो। बीमा रकम प्राप्त हुने तथा ऋणको भुक्तानी तालिका पुनर्संरचना गरिएकाले उक्त घटनाको प्रभाव कम्पनीको दीर्घकालीन वित्तीय अवस्थामा ठूलो असर नपर्ने जनाएको छ।
विशेषगरी मौज्दातमा भएको क्षतिको ठूलो हिस्सा बीमा रकमबाट पूर्ति हुने अपेक्षा गरिएको छ। बीमाबाट नसमेटिएको बाँकी क्षति कम्पनीले आफ्नै वित्तीय स्रोतबाट व्यवस्थापन गर्न सक्ने र त्यसबाट दीर्घकालीन वित्तीय सूचकमा उल्लेख्य गिरावट नआउने कम्पनीको विश्वास छ।
यद्यपि, क्षतिग्रस्त बिक्री केन्द्र बन्द हुँदा व्यवसायमा आएको अवरोध र पुनर्निर्माणका लागि आवश्यक थप रकमका कारण कम्पनीको निकट अवधिको तरलतामा दबाब परेको छ। जुलाई २०२६ सम्म मौज्दात क्षतितर्फ दाबी गरिएको रकमको करिब ३८ प्रतिशत र सम्पत्ति क्षतितर्फ करिब छ प्रतिशत रकम मात्र अग्रिमका रूपमा प्राप्त भएको छ। ठूलो हिस्सा बीमा दाबी अझै प्राप्त हुन बाँकी छ।
पुनर्निर्माण तथा पुनःस्थापनाका लागि कम्पनीले सम्पत्ति क्षतिबापत प्राप्त हुने बीमा रकमलाई आधार बनाएर ऋण लिएको छ। साथै, अल्पकालीन ऋणको प्रयोग पनि बढाएको छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट नौ अर्ब १४ करोड ४९ लाख रुपैयाँ दीर्घकालीन र आठ अर्ब १० करोड १७ लाख रुपैयाँ अल्पकालीन गरी १७ अर्ब २४ करोड ६६ लाख रुपैयाँ ऋण लिएको छ।
आगामी दिनमा अपेक्षित बीमा रकम समयमै प्राप्त गर्न सक्ने कम्पनीको क्षमता वित्तीय तथा तरलता अवस्थामा सुधार ल्याउन महत्वपूर्ण हुने भएकाले यो विषय कम्पनीको ऋण मूल्यांकनका लागि मुख्य निगरानीयोग्य पक्ष रहनेछ। इक्रा नेपालले बीमा दाबीबाट प्राप्त हुने रकम करिब एक वर्षभित्र टुंगो लाग्ने अपेक्षा गरेको छ। तर, बीमा रकम प्राप्त हुने अनुमान वा बीमाबाट नसमेटिने क्षतिको परिमाणमा ठूलो फरक परेमा त्यसले कम्पनीको ऋण मूल्यांकनमा असर पार्न सक्नेछ।
भाटभटेनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा समग्रमा बढ्दो क्रममा रहे पनि गत वर्ष आन्दोलनको प्रभावले उल्लेख्य गिरावट आएको हो। कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा ११ अर्ब ७७ करोड ९० लाख रुपैयाँ, आव २०७३/७४ मा १५ अर्ब २७ करोड ८० लाख, आव २०७४÷७५ मा १७ अर्ब ९९ करोड ६० लाख, आव २०७५÷७६ मा १९ अर्ब ३६ करोड २० लाख र आव २०७६÷७७ मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ९३ करोड, आव २०७८÷७९ मा २६ अर्ब ८८ करोड ६० लाख, आव २०७९÷८० मा २९ अर्ब ७९ करोड ४० लाख, आव २०८०÷८१ मा ३० अर्ब ६२ करोड र आव २०८१/८२ मा ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
सन् १९९२ मा निजी कम्पनीका रूपमा स्थापना भएको भाटभटेनीले सन् १९८४ मा काठमाडौंको नक्सालस्थित भाटभटेनीमा सानो खुद्रा पसलबाट व्यवसाय सुरु गरेको थियो। त्यसपछि कम्पनीले काठमाडौं उपत्यकासहित नेपालका प्रमुख शहरहरूमा सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर विस्तार गर्दै आएको छ। कम्पनी पारिवारिक स्वामित्वमा रहेको छ। कम्पनीमा मिनबहादुर गुरुङको करिब ६० प्रतिशत र उनकी श्रीमती सावित्री घले गुरुङको करिब ४० प्रतिशत स्वामित्व रहेको छ।
लामो समयदेखिको व्यावसायिक अनुभव र देशका प्रमुख शहरी क्षेत्रमा रहेको बलियो उपस्थितिका कारण भाटभटेनी नेपालको संगठित खुद्रा व्यापार क्षेत्रमा स्थापित नामका रूपमा रहेको छ। कम्पनीका बिक्री केन्द्रमा खाद्यान्न, घरायसी सामग्री, विद्युतीय उपकरण, कपडा तथा दैनिक उपभोग्य वस्तुलगायत विभिन्न सामग्री बिक्री हुँदै आएका छन्।
तर, कम्पनीले बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ। विशेषगरी किराना तथा दैनिक उपभोग्य वस्तुको क्षेत्रमा तीव्र रूपमा विस्तार भइरहेका साना खुद्रा पसल तथा मिनिमार्टबाट प्रतिस्पर्धा बढेको छ। किराना क्षेत्रबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ५० प्रतिशत हिस्सा आउने गरेको जनाएको छ।
मिनिमार्टहरूले नयाँ बिक्री केन्द्र थप्दै लगेका छन् भने असंगठित खुद्रा क्षेत्रका व्यवसाय तथा स्थानीय पसल पनि प्रतिस्पर्धामा छन्। यससँगै अनलाइनमार्फत वस्तु खरिद गर्ने प्रवृत्ति बढ्दै जानुले दीर्घकालमा कम्पनीको व्यवसायमा थप चुनौती सिर्जना गर्न सक्ने भाटभटेनीको भनाइ छ।
प्रमुख शहरी बजारमा भने भाटभटेनीको बलियो उपस्थिति छ । गत वर्ष काठमाडौं, पोखरा र चितवनबाट मात्रै कम्पनीको कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा आएको थियो। यद्यपि, अर्धशहरी तथा नयाँ विकसित भइरहेका महानगरीय र उपमहानगरीय क्षेत्रमा प्रमुख शहरी बजारमा हासिल गरेको सफलता दोहोर्याउन सक्ने कम्पनीको क्षमता अझै परीक्षणकै क्रममा रहेको छ। बढ्दो शहरीकरण, स्थानीय अर्थतन्त्रको विस्तार तथा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण यी क्षेत्रमा उपभोग खर्च बढ्दै जानुले भने कम्पनीका लागि केही हदसम्म सकारात्मक वातावरण सिर्जना गरेको छ। उपभोक्ताको खर्च गर्ने क्षमता र आधुनिक खुद्रा व्यापारप्रतिको आकर्षण बढ्दै गएमा भाटभटेनीका लागि आगामी दिनमा बजार विस्तारको थप अवसर सिर्जना हुन सक्ने देखिन्छ।
