काठमाडौं। नेपाल-चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक सीमा नाका रसुवागढी र तातोपानी बाढी-पहिरोका कारण अवरोध बनेपछि चीनसँगको वैकल्पिक व्यापारिक नाका मुस्ताङस्थित कोरला नाका बन्ने भएको छ। सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका अवरुद्ध बनेपछि चीनसँगको व्यापारिक नाकाका रूपमा कोरलालाई लिइएको हो।
पहिरोले सडक अवरुद्ध भएपछि असार अन्तिम सातादेखि तातोपानी नाका बन्द अवस्थामा छ। त्यसपछि रसुवागढी नाका व्यापारिक नाकाका रूपमा सञ्चालन आएको थियो। तर, रसुवास्थित भोटेकोशी तथा त्रिशुली नदीमा बुधबार बिहान आएको बाढीले रसुवागढी नाका क्षतविक्षत भएको छ।
यी दुवै नाकामा क्षतिग्रस्त भएपछि अब चीनसँगको वैकल्पिक व्यापारिक नाकाका रूपमा कोरलालाई हेरिएको छ। भन्सार विभागले समेत चीनसँगको व्यापारिक नाकाका रूपमा रहेको तातोपानी र रसुवागढी बन्द भएपछि वैकल्पिक नाका प्रयोग तथा व्यापार सहजीकरणका लागि कोरला नाकालाई लिइएको जनाएको छ।
विभागले रसुवागढी, तातोपानीलगायत नाका हुँदै नेपालतर्फ आउन लागेका मालवाहक सवारी साधन चालक तथा व्यवसायीहरूले हाल उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै तत्कालका लागि सम्भव भएसम्म कोरला नाका प्रयोग गर्ने अनुरोध गरेको छ। रसुवागढी र तातोपानीजस्ता परम्परागत नाका अवरुद्ध हुँदा कोरला नाका अब मुख्य वैकल्पिक मार्गका रूपमा स्थापित हुने संकेत देखिन्छ।
पूर्वअर्थ सचिव कृष्ण हरि बास्कोटाका अनुसार कोरला नाका ठूलो भएकाले यसमा आवश्यक पूर्वाधार दुवै देशले निर्माण गरेर सहजै व्यापारिक मार्ग बनाउनुपर्छ। चीन सीमाले गर्दा नेपालतर्फ अलि सहज गरे पनि सरकारले व्यापार सहजका लागि चिनियाँ सरकारसँग सहजीकरण गर्नुपर्ने पूर्वअर्थ सचिव बास्कोटा बताउँछन्।
अर्को, पूर्वअर्थ सचिव शिशिर ढुङ्गानाका अनुसार पहिला पनि कोरला नाकाबाट व्यापारीकरण हुँदै आइरहेको भए पनि नेपालतर्फ पूर्वाधार निर्माण गर्ने आश्यक रहेकाले त्यसलाई निर्माण गर्ने आवश्य देखिन्छ।वैकल्पिक नाकाका रूपमा कोरला नाकालाई लिइएको भए पनि वर्षौंदेखि व्यापार गर्दै आइरहेको नाका जस्तो त्यत्ति प्रभावकारी नाका बन्न नसक्ने उनको भनाइ छ।
सरकारले चिनियाँ सरकारसँग सहजीकरण गरेर छिट्टै नै रसुवागढी नाकालाई मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन पहल गर्ने आवश्यकता रहेको उनले बताए। भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका अनुसार कोरला नाकाबाट आयातित मालसामानका लागि पूर्वाधारको अवस्था सहज भए पनि नाकामा बसोबास गर्ने अलि असहज भएको देखिन्छ।
नाकामा बसोबासका लागि अक्सिजनको आवश्यकता पर्ने बताउँदै सूचना अधिकारी बर्तौलाले दीर्घकालीन रूपमा यो नाका सञ्चालन गर्नेका लागि अक्सिजनसहितको पूर्वाधार निर्माण गर्ने आवश्यक रहेको बताउँछन्। कोरला नाकाबाट आयातित मालसामानका लागि नजिक भए पनि मानवीय दृष्टिकोणले अलि जोखिम रहेको उनको भनाइ छ।
कोरला नाकामा पूर्वाधारका हिसाबले सडक मार्ग निकै सहज रहेको छ। नाकामा आयातित मालसामान जति पनि आयात गर्ने सक्ने गरेर समतल भूमि रहेको भए पनि अक्सिजन विना बस्न नसकिने देखिन्छ। कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गरेर दीर्घकालीन रूपमा सोच्न पर्ने अवस्था आएको सूचना अधिकारी बर्तौला बताउँछन्।
