काठमाडौं। आज आश्विन शुक्ल एकादशी अर्थात टीकाको दोस्रो दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ।
विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दशैंको टीका लगाउने क्रम जारी छ।
आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ।
दशैंको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन्। त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।
हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ। वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ। यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस एकादशीको व्रत र भगवान् विष्णुको उपासनाले पापबाट मुक्ति प्राप्त हुने विश्वास गरिन्छ। यस दिन व्रत बस्ने, फलाहार गर्ने, पूजा–पाठ गर्ने तथा एकादशी महात्म्यको कथा श्रवण गर्ने चलन छ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।