काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दर्ता गराएको पुरक निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको तीन सदस्यीय पूर्ण इजलासले महाधिवेशन रोक्न आदेश जारी नगर्ने निर्णय गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काको निवेदनमा मागभए बमोजिम अन्तरिम आदेश नभएको र पुनरवलोकनको निवेदनको रोहमा पछि जस्तोसुकै निर्णय भए पनि हाललाई रोक नलगाइएको जानकारी दिए।
सर्वोच्चको यस आदेशसँगै सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आफ्ना नियमित दलीय गतिविधि तथा महाधिवेशनका तयारी अघि बढाउन बाटो खुलेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वलाई अस्वीकार गर्दै आएको देउवा-खड्का समूहले महाधिवेशन रोक्न कानूनी लडाइँ छेडेको थियो। यता गगन थापा नेतृत्वले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने गरी तयारीका गतिविधि तीव्र पारिसकेको छ।


