काठमाडौं- आज चैत ७ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन आग्रह गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा, 'सरकारले विप्लव नेतृत्वको नेकपालाई सिध्याउन खोजेको हो?' भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले विप्लव समूहलाई हातहतियारसँगै बमबारुद त्यागेर शान्तिपूर्ण ढङ्गले वार्तामा आउन आग्रह गरे। उनले सरकारको शब्दकोशमा सिध्याउने भन्ने शब्द नरहेको बताए। उनले भने 'सरकारले विप्लवलाई सिध्याउन खोजेको भन्ने कुरा गलत हो। सरकारको शब्दकोशमा सिध्याउने भन्ने शब्द छैन।'
होलीको रंगिन मुडमा बुधबार कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिएको अभिव्यक्ति मिडिया र सामाजिक संजालमा मात्र भाइरल भएन, त्यसले राजनीतिलाई समेत तरंगित गर्यो। होलिको रमाइलो जमघटमा कोइरालाले भनिदिए, 'गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गर्नुपर्छ।' होलि पर्व र समाचारको खडेरी परेको दिन सबै मिडियाका लागि त्यो हटकेक जस्तै भइदियो। महत्वका साथ सबै त्यसलाई संप्रेषण गरे।
साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल पुगेको नेपाली टोलीले रिकभरिका लागि ‘डस्टबिन’मा आइस बाथको मज्जा लिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको लागि आईस बाथ गर्ने बकेट उपलब्ध नगराएपछि नेपाली महिला टोलीले आएस बाथ ‘डस्टबिन’मा लिएका हुन् ।
३८ दिनसम्म लगातार होली पर्व मनाउने प्रचलन रानाथारु समुदायमा बिस्तारै हट्न थालेको छ। पुरानो पुस्ताको अन्त्यसँगै लामो समयसम्म होली मनाउने परम्परा पनि अन्त्य हुन थालेपछि समुदायका अगुवाहरु चिन्तिन बनेका छन्।
रानाथारु समुदायले सबैभन्दा लामो चाडका रुपमा होली मनाउने प्रचलन छ। नयाँ पुस्ताको आगमनसँगै होली मनाउने समय पनि छोटो हुँदै गएपछि पुरानो पुस्तामा होली नै लोप हुने चिन्ता बढेको छ। यो जातीमा होरीपर्व माघ पूर्णिमाको दिन सुरु भई फागु पुर्णिमासम्म होलीका गीतहरु गाउँदै, नाच्दै मनाउने र फागु पुर्णिमाको दिन होली दहन गरी आठ दिनसम्म मान्यजनका घरमा होरीको गीत गाउँदै, नाच्दै दिउसो मनाउने चलन छ।
नागरिकता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा सहमति जुटाउन ९ सदस्यीय उपसमिति गठन भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले अंगीकृत नागरिकता र लैंगिक समानताका विषयमा सांसदहरुबीच कुरा मिल्न नसकेपछि सहाति जुटाउन उपसमिति गठन गरिएको हो। यो उपसमितिले विभिन्न दलका शीर्ष नेतासँग छलफल गरी नमिलेका विषय टुंग्याउनेछ। उपसमितिको समयावधि दुई हप्ता तोकिएको छ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले नै प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको बताएको छ। बिहीबार मध्य केन्द्रीय कमाण्ड इन्चार्ज सुदर्शनद्वारा जारी प्रेस विज्ञप्तिमा प्रहरीले आफूहरुमाथि जवाफी कारबाहीका क्रममा गोली चलाएको भन्ने बकवास गरेको बताइएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले लगानी सम्मेलनको आयोजना सकारात्मक भए पनि यसका लागि सरकारले पर्याप्त गृहकार्य र छलफल नगरेको बताएका छन्।
राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा उनले भने,‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ। सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन।'
कालिकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले रेडियो स्टेशन भित्रैबाट पक्राउ गरेको हो।
प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उनी जनपत्रकार संगठन नेपाल कालिकाेटका जिल्ला संयाेजकसमेत हुन्।
मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने भएको छ। बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी सङ्गठनका पदाधिकारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलबीच भएको छलफलमा विद्यार्थीबाट लिइएको बढी शुल्क एक महिना भित्र फिर्ता गर्ने सहमति भएको हो।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्ने मुख्य आधार गोर्खाली पन भएको बताएका छन् । उनले फाइनल खेलमा एकछत्र राज गर्दै आएको भारतलाई पराजित गर्दै नयाँ इतिहास रच्ने समेत बताएका छन् ।
एम्नेस्टी इन्टरनेसनल नेपालले महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै गृह मन्त्रालयलाई २३,२४७ पत्रहरू बुझाएको छ। ती पत्रहरू एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले सन् २०१८ को २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम 'राइट फर राइट्स' अभियानका क्रममा सङ्कलन गरिएका थिए।
भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ। अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए।
धानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहीबार जनताको शेयर आवेदन शुभारम्भ गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता शेयरका लागि आवेदन दिएका हुन्। उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिए।
जनकपुरको अन्तरगृह परिक्रमा गरेसँगै यस वर्षको १५ दिने मिथिला मध्यमा परिक्रमा विहिबार सकिएको छ। नेपाल तथा भारतको विभित्र धार्मिक स्थलहरुको परिक्रमा गर्दै बुधबार आइपुगेको मिथिला मध्यमा परिक्रमा विहिबार मध्यरातदेखि जनकपुरको परिक्रमा गरेको छ। श्रद्धालुहरु जनकपुरभित्रै पाँच कोश दुरीको परिक्रमा गर्ने गरेकोले अन्तरगृह परिक्रमालाई स्थानीय भाषामा ‘पँच कोशी’ परिक्रमासमेत भन्ने गरिन्छ। १५ दिनसम्म चल्ने मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौंको संख्यामा तिर्थालुहरु सहभागी हुने भएकोले यसलाई मिथिलाको महाकुम्भसमेत भनिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार परिवारसहित नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्न पुगे। फागु पूर्णिमाको सन्दर्भ पारेर प्रधानमन्त्री ओली पिता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यका साथ ‘क्याप्टेन’ हेर्न कमलपोखरीस्थित सिटी सेन्टरमा पुगेका थिए। बुधबार साँझ प्रधानमन्त्री ओली उक्त चलचित्र हेर्न पुग्दा हल सफा पारिएको थियो। हल दर्शकले भरिभराउ थियो। बस्ने सिट पनि सफा र चिटिक्क पारिएका थिए। हलमा सबै सिट रातो कभरले छोपिएका थिए। तर दुई सिट मात्र सेतो कभरले छोपिएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन्। राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गरेकी हुन्।
कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन। अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन्। अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन्। त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका अन्तरजातीय जोडी सफल भएका छन् भने समाजमा एउटा उदाहरणीय पात्र बन्ने गरेका छन्।
प्रदेश २ को तेस्रो प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ। अधिवेशन १४ चैत तीनबजे आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।यसअघि ४ फागुनमा प्रदेशसभाको बैठक बसेको थियो भने १८ फागुनमा दोस्रो अधिवेशन अन्त्य भएको घोषणा गरिएको थियो। वीरगन्जस्थित बीपी उद्यानको नाउँमा रहेको जग्गामा प्रदेश सरकारले जबरजस्ती सहिद पार्क निर्माण गर्न शिलान्यास गरेको विरोधमा नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेपछि अर्को बैठक बस्न सकेको छैन। प्रदेश सरकारले आफ्नो निर्णय नसच्याएसम्म बैठक चल्न नदिने बताएको थियो।
गत माघमा रूपन्देही जिल्ला प्रशासनमा ६ सय ९ जनाले राहदानीका लागि आवेदन दिएकोमा १४ जना नाबालक थिए। यसैगरी फागुनमा पाँच सय १७ जनामध्ये १० जना नाबालकले राहदानीका लागि आवेदन दिएका छन्। राहदानी फाँटका नायब सुब्बा लक्ष्मी पाण्डेका अनुसार महिनामा एकदुई पटक ५/६ जनाको समूहमा नाबालक भिक्षुहरु राहदानी बनाउन आउने गरेका छन्।
समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ। आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध विस्तार गर्न घरघरमा पुग्ने गरी उक्त अभियान चलाउन लागिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए। ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु हुने घरदैलो कार्यक्रमअन्तर्गत हरेक घरघरमा सामाजिक सेचतनाका विषय उल्लेख गरिएको स्टिकरसमेत टाँस गरिनेछ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन् । होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था जटिल छ । ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो ।
विराटनगरमा जार पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत भन्दा नेपाल बलियो भएको बंगलादेशी मुख्य प्रशिक्षक गोलाम रब्बानी छोटोनले बताएका छन् ।उनले मानसिक तथा शारिरिक रुपमा समेत बलियासँगै घरेलु मैदानका कारण नेपाल भारत भन्दा बढी उपाधि दाबेदार भएको बताएका हुन् ।
कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा आजदेखि यातायात सञ्चालन गरिने भएको छ । जिल्लाको महत्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली परिवारसहित कमलपोखरीस्थित सिटी सेन्टरमा गएर नेपाली चलचित्र ‘क्याप्टेन’ हेरेका छन् । फागु पूर्णिमाको सन्दर्भ पारेर आफ्ना पिता र पत्नीसाथ प्रधानमन्त्री ओली बुधबार साँझ उक्त चलचित्र हेर्न गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्र फुटबल खेलसँग आधारित कथावस्तु रहेको छ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ ।
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई मधेसका जिल्लाहरुमा धुमधामसँग होली मनाइदैँछ । तराईवासीले ठूलो चाडका रुपमा लिने होलीमा बिहानैदेखि बालबालिका, युवायुवती, वृद्धवृद्धा झुमेका छन् । पहाडी भूभागमा होलिका दहनअघि नै फागु(होली) मनाउने चलन भए पनि तराईमा भने पूर्णिमाको रातको अन्तिम प्रहरमा ‘होलिका दहन’ गरेपछि भोलिपल्ट मनाउने परम्परा छ । तराई मधेशमा ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने विश्वास गरिन्छ। यो पर्वमा रङ अबिर लगाई मान्यजनबाट आशीर्वाद समेत लिइन्छ।
नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहिबार) कुवेतसँग अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्दै छ । खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । फगुन देखी राष्ट्रिय टोली सम्हालेको मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो खेल हो । कालिनका लागि यो परिक्षण हो भने अर्को तिर टोली छनोट र सेटका लागि राष्ट्रिय कालिनको खेलाडी टेस्ट पनि हुने छ । त्यसैले पनि कुवेतसँगको मैत्रिपुर्ण खेल खेलाडी र प्रशिक्षक दुबैका लागि महत्वपुर्ण रहेको छ ।
एसिया कप व्हीलचेयर क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ। आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालले बिहीबार पत्रकार सम्मेलन गरी अप्रिल अन्तिम साता प्रतियोगिता आयोजना गर्ने जानकारी गरायो। ४ दिनसम्म सञ्चालन हुने प्रतियोगिता कीर्तिपुर टीयू क्रिकेट मैदानमा हुनेछ। ‘ग्राउन्डको समस्याले गर्दा मिति यकिन गर्न नसकिएको हो। हामीले गर्ने समयमा ग्राउन्ड बुक भइसकेको रहेछ।’ आयोजक व्हीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिन शेर्पाले भने, ‘ग्राउन्ड बुक गर्ने पक्षसंग हामीले कुरा गरिरहेका छौं। उहाँहरुको सकरात्मक जवाफ पाएका छौं।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४