धनगढी- समाजसेवा भन्नेबित्तिकै अनुराधा कोइरालाको नाम दिमागमा आउँछ। त्यसो त समाजसेवा हजारौंले गरिरहेका छन् तर समाजसेवाको पर्याय बनेकी छन् अनुराधा।
खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन बाध्य भएका नेपाली चेलीबेटीको उद्धार तथा पुनर्स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै अनुराधाको नाम समाजसेवाको विशिष्ट श्रेणीमा आउँछ। यसबापत उनले थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छन्। कोइराला 'सिएनएन हिरो २०१०', 'मदर टेरेसा सम्मान २०१४' र भारत सरकारले प्रदान गर्ने 'पद्मश्री सम्मान' लगायत थुप्रै सम्मानबाट विभूषित भइसकेकी छन्।
समाजसेवाका लागि माइती नेपाल स्थापना गरेकी कोइराला अहिले पनि उत्तिकै सक्रिय छिन्। माइती नेपालले हालसम्म ५७ हजारभन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिसकेको तथ्यांक छ। समाजसेवाको पर्याय बनेकी अनुराधालाई पछ्याउँदै यो क्षेत्रमा लाग्नेहरु प्रशस्तै छन्।
तिनैमध्येका हुन् कल्पना भट्ट, जो असहाय, बेवारिसे र मानसिक सन्तुलन गुमाएर सडकमा पुगेका महिलाहरूको उद्धार र संरक्षणमा क्रियाशील दृष्टि फाउन्डेसन धनगढी कैलालीकी अध्यक्ष हुन्। कञ्चनपुरमा रहेर वृद्धाश्रम सञ्चालन गर्दै जेष्ठ नागरिक तथा बेसहारा व्यक्तिहरुको पालनपोषण गर्दै आएकी अधिकारकर्मी शारदा चन्द र सडकका जीवन बिताइरहेका बेसहाराहरूको सहारा दिने कार्यमा क्रियाशील सुनसरीको माया घरकी सचिव एवं संस्थापक आमा शुभद्रा प्याकुरेल पनि अनुराधाकै बाटोमा छन्।
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका हुन्छन्। सडकमा कोही भोका र बेसहारा देख्यो भने मानिसहरूले राज्यलाई सम्झिँदैनन् तर उनीहरूलाई सम्झिन्छन्। राज्यले बेसहारा नागरिकको रक्षा गर्छ भन्ने विश्वास जनतामा छैन। तर, ती कर्मठ चेलीहरूको हृदयमा त्यस्ता व्यक्ति ठोकिन पुगे उनीहरूले बास र गाँस पाउँछन् भन्ने विश्वासमा मानिसमा छ।
त्यसैले त उनीहरू एकै स्वरमा भनिरहेका हुन्छन्, ‘सडक बेसहारा स्याहार्दाको आनन्द नै बेग्लै हुन्छ।’ धनगढीमा चैत १० गतेदेखि चलेको चार दिने 'विश्व नेपाली नारी साहित्य महोत्सव'मा ‘अनुराधासँग अनुराधाहरू’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको सहजकर्ता थिए सञ्चारकर्मी मुकुन्द भण्डारी। साक्षात्कारमा धनगढीको दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पनाले अहिले आफूसँग ६४ जना मानसिक रोगी तथा सडक बेसहारा रहेको बताइन्।
‘बेरोजगारी, हिंसा, गरिबी लगायत कारणले मनोरोगी बढ्दै गएका छन्। त्यस्ता ब्यक्तिहरू घर परिवार छोडेर सडकमा जीवन बिताउन बाध्य छन्। उनीहरूलाई सरकारले हेर्दैन। किनकि सरकार नागरिकप्रति जिम्मेवार छैन,’ उनले भनिन्। बेसहारा महिला सडकमै बलात्कृत हुने र सडकमै बच्चा जन्माउन बाध्य हुनेसम्मका दुखद् घटनासमेत हुने गरेको उनले सुनाइन्।
सडकमा बेसहारा भई जीवन बिताइरहेकाहरूको कोही नहुने भएकाले आफू उनीहरूको सेवामा तल्लिन भएको कल्पनाको भनाइ छ। 'एक महिला सडकमै तीन पटकसम्म बलात्कृत भइन्। उनले बच्चा जन्माउँदा सडकमै कुकुरले खाइदिने गरेको पाइयो। एउटा मानसिक सन्तुलन गुमाएकी निरिह महिलाको यस्तो अवस्थाले मन पोल्छ। त्यसैले अहिले मैले महिला दिदीबहिनीलाई राखेर संरक्षण गर्दै आएकी छु। आगामी दिनमा अवस्था सहज भएमा पुरुषहरूलाई पनि राख्ने छु,' उनले संकल्प गरिन्।
यस्तै कञ्चनपुरमा रहेर महिला तथा वृद्ध सेवा केन्द्र सञ्चालन गर्दै आएकी अधिकारकर्मी शारदा चन्द पनि अहिले ७० जना वृद्धवृद्धाको स्याहारमा समर्पित छन्। घरपरिवारले वास्ता नगरेपछि वृद्ध आमाबुबा मानसिक अवस्था गुमाउँदै सडकमा निस्कने गरेको पाइएको उनको अनुभव छ। त्यस्ता ज्येष्ठ आमाबुबालाई देख्नेबित्तिकै शारदाको मन मन पग्लन्छ। उनी सेवा आश्रममा ल्याएर त्यस्ता व्यक्तिहरूलाई सहारा दिँदै आएकी छन्। आफूले यही आश्रमबाट अहिलेसम्म ५ हजारभन्दा बढी ज्येष्ठ नागरिकको उद्धार तथा पुनर्मिलन गरिसकेको बताइन्।
सुनसरी माया घरकी सुभद्रा प्याकुरेलले पनि १ सय ५४ जना सडक बेसहारा तथा अलपत्र परेका ज्येष्ठ नागरिकको भरणपोषण गर्दै आएकी छन्। ‘खाना, नाना र छाना नपाएर सडकमा बेसहारा जीवन बिताइरहेकाहरुलाई हामीले आश्रय दिँदै आएका छौँ,’ उनले भनिन्। उनीहरूले नेपालका मात्रै नभएर भारतको सिक्किम, दार्जिलिङका बेसहारा नागरिकको उद्धार गरेर पुनर्मिलन पनि गराएका थुप्रै उदाहरण प्रस्तुत गरिन्।
उनीहरू समाजसेवाका क्षेत्रमा सक्रिय छन्। तर, सरकारले न उनीहरूलाई प्रेरणा दिएको छ। न कुनै आवश्यक सहयोग नै। मनकारी दाताहरूको दानबाट नै उनीहरू बेसहाराको सहारा बनिरहेका छन्। उनीहरूलाई यताउति जाने फुर्सद पनि छैन। परिवारका सदस्यलाई दिनका लागि पनि उनीहरूसँग समय हुँदैन। जहिले र जतिबेलै बेसहाराहरूको मात्रै चिन्ता।
घरपरिवारका सदस्यले कुनै अरु काम गरिदिउन् भन्ने चाहेका थिए। तर, उनीहरूको मनमा समाज थियो, मानवता थियो र त्यो भन्दा बढी थियो मानव सेवाको भाव। जसले उनीहरूलाई समाजसेवाको यो पाटोबाट छुट्टिएर टाढा जानै दिएन। उनीहरूले एकै स्वरमा आगामी दिनमा राज्यले उनीहरूको संरक्षणको जिम्मेवारी नलिँदासम्म आफूहरू सेवामा नै तल्लिन भइरहने प्रतिवद्धता व्यक्त गरेका छन्।