काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरो जाँदा ६ नेपालीसहित १० आरोहीको खोजी र उद्धार जारी रहेको छ। पाकिस्तान अल्पाइन क्लबका अनुसार मृत्यु हुनेमा ओमानकी नधिरा अल हार्थी र नेपालका पुरबहादुर गुरुङ (युक्त) रहेका छन्। बाँकी दुई जनाको पहिचान हुन बाँकी रहेको बताइएको छ।
बेपत्ता हुनेमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा समेत रहेका छन्। ब्रोड पिक आरोहणमा जानु अघि पुर्जाले सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेखेको पाइएको छ। पुर्जाले आफ्नो स्ट्याटसमा आफुले कुनै पनि हिमाललाई कहिल्यै सामान्य नठान्ने र आधार शिविरबाट पाइला चाल्ने क्षणदेखि नै सम्पूर्ण समर्पण त्यसैमा हुने उल्लेख गरेका छन्।
साथै उनले ब्रोड पिकसँग आफुलाई सुरक्षित रूपमा माथि पुग्न र सुरक्षित रूपमा फर्कन दिन प्राथना समेत गरेका छन्। उनले भनेका छन्- 'ब्रोड पिकसँग मेरो एउटै प्रार्थना छ, मलाई सुरक्षित रूपमा माथि पुग्न र सुरक्षित रूपमा फर्कन देऊ। म कुनै पनि हिमाललाई कहिल्यै सामान्य ठान्दिन। आधार शिविरबाट पाइला चाल्ने क्षणदेखि नै मेरो सम्पूर्ण समर्पण त्यसैमा हुन्छ। सधैं त्यस्तै थियो, सधैं त्यस्तै रहनेछ।'
निर्मल पुर्जाको भावुक पोष्ट:
यो कहिल्यै योजना थिएन। सुरुमा मेरो योजना केवल ग्यासरब्रुम-२ आरोहण गर्ने मात्र थियो। तर पाकिस्तान प्रस्थान गर्नुअघि मैले आफूले आरोहण गरेका आठ हजार मिटरभन्दा अग्ला हिमालहरूको हिसाब हेरेँ। त्यही बेला महसुस भयो, यदि यही अवसरमा ब्रोड पिक पनि आरोहण गर्न सकेँ भने त्यसपछि केवल छो ओयु मात्र बाँकी रहनेछ। त्यसपछि म कृत्रिम अक्सिजनको प्रयोग नगरी विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल दुई-दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्नेछु।
यो पूर्वयोजना थिएन। मेरो मुख्य ध्यान ‘ह्याट्रिक’ अभियानमै थियो, किनकि त्यसले ठूलो उद्देश्य बोकेको थियो। तर अवसरहरू कहिल्यै ठूलो आवाज गरेर आउँदैनन्, तिनीहरू चुपचाप आफ्नो काम गरिरहेका मानिसलाई मात्र संकेत गर्छन्।
हरेक अभियानमा मैले एउटा कुरा मनमा राखेको छु, मैले कहिल्यै अरूसँग प्रतिस्पर्धा गरिन। मेरो एकमात्र प्रतिस्पर्धा हिजोको आफूलाई जित्ने थियो। हरेक दिन आफ्नै सीमालाई चुनौती दिए। किनकि जुन क्षण तपाईंले अरूले के गरिरहेका छन्, के भनिरहेका छन् वा के उपलब्धि हासिल गरिरहेका छन् भन्नेमा ध्यान दिन थाल्नुहुन्छ, त्यही क्षण तपाईं आफ्नो लक्ष्यबाट विचलित हुन थाल्नुहुन्छ। तपाईंको दिशा तपाईंको आफ्नै हो। त्यसलाई दृढतापूर्वक जोगाइराख्नुहोस्।
मैले ‘प्रोजेक्ट पोसिबल’ अभियानमा कृत्रिम अक्सिजनबिनै सबै १४ वटा हिमाल आरोहण गर्दा धेरैले आलोचना गरेका थिए। त्यो यात्रामा के कति चुनौती थिए भन्ने बुझ्न चाहनुहुन्छ भने नेटफ्लिक्समा रहेको ‘फोर्टिन पिक्स’ हेर्नुहोस्। त्यो चलचित्रमा सबै वास्तविकता देखाइएको छ। त्यतिबेला मैले अन्य अभियानले छाडेका आरोहीहरूको उद्धार गरेको थिए, अभियानका लागि आफैंले आर्थिक स्रोत जुटाएको थिए, अग्रपंक्तिमा रहेर नेतृत्व गरेको थिए, आफ्नै टोलीका लागि डोरी व्यवस्थापन गरेको थिए, चीनसँग शिशापाङ्मा आरोहण अनुमति मिलाएको थिए, आमाको शल्यक्रियाका क्रममा अस्पतालमा पनि पुगेको थिए र यस्ता धेरै जिम्मेवारी सम्हालेको थिए। अहिले म कृत्रिम अक्सिजनबिनै दोस्रो पटक सबै १४ हिमाल आरोहण गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छु, जुन समग्रमा तेस्रो उपलब्धि हुनेछ। आलोचनाको आवाज अझै रोकिएको छैन, तर मैले त्यो सुन्न छाडिसकेको छु।
अझै पनि शंका गर्नेहरूका लागि भन्न चाहन्छु, मैले पाकिस्तानका पाँचवटै आठ हजार मिटरभन्दा अग्ला हिमाल केवल २६ दिनमै कृत्रिम अक्सिजनबिनै आरोहण गरिसकेको छु। नेतृत्व गर्दै, मार्गदर्शन गर्दै। अक्सिजन प्रयोग गरेर मेरो कीर्तिमान तोड्नेहरूको कीर्तिमान पनि मैले अक्सिजनबिनै तोडेको छु। त्यसका प्रमाण सबैसँग छन्।
ब्रोड पिकसँग मेरो एउटै प्रार्थना छ, मलाई सुरक्षित रूपमा माथि पुग्न र सुरक्षित रूपमा फर्कन देऊ। म कुनै पनि हिमाललाई कहिल्यै सामान्य ठान्दिन। आधार शिविरबाट पाइला चाल्ने क्षणदेखि नै मेरो सम्पूर्ण समर्पण त्यसैमा हुन्छ। सधैं त्यस्तै थियो, सधैं त्यस्तै रहनेछ।
यो अभियान यहाँसम्म पुर्याउन साथ दिने सबैलाई समर्पित छ, समर्थकहरूलाई, आलोचकहरूलाई, सबैलाई। यी दुवै पक्ष नभएको भए यो आगो बल्ने थिएन। त्यसैले सबैप्रति मेरो हृदयदेखि नै धन्यवाद।
मेरो उद्देश्य कहिल्यै केवल मेरो व्यक्तिगत उपलब्धि थिएन। मैले प्रतिनिधित्व गर्ने मूल्य र सन्देश नै मेरो वास्तविक उद्देश्य हो। म तपाईंलाई देखाउन चाहन्छु कि तपाईंको जीवनका आफ्नै हिमाल-ती जुनसुकै किन नहोस्-पनि आरोहण गर्न सकिन्छ।