होलीको बोली भोलि नै किन फेरे कांग्रेस महामन्‍त्री शशांकले

/assets/plugins/bower_components/fileman/Uploads/Images/Shasank_Koirala_123.jpg

काठमाडौं - होलीको रंगिन मुडमा बुधबार कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिएको अभिव्यक्ति मिडिया र सामाजिक संजालमा मात्र भाइरल भएन, त्यसले राजनीतिलाई समेत तरंगित गर्‍यो। होलिको रमाइलो जमघटमा कोइरालाले भनिदिए, 'गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह  गर्नुपर्छ।'  होलि पर्व र समाचारको खडेरी परेको दिन सबै मिडियाका लागि त्यो हटकेक जस्तै भइदियो। महत्वका साथ सबै त्यसलाई संप्रेषण गरे।

पार्टीभित्रको दबाब र बाहिरको आलोचना खेप्‍न नसकेपछि बिहीबार नै चितवन पुगेर कोइरालाले होलीको बोली सच्चाउने प्रयास गरेका छन्। महामन्त्री कोइरालाले गणतन्त्र र संघीयता जनआन्दोलनका मुख्य उपलब्धी भएको बताएका छन्। उनले भने, ‘गणतन्त्र र संघीयता जनआन्दोलनका उपलब्धि हुन्, मैले यसमा जनमत संग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन। हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको मात्र बताएको हुँ।'

कांग्रेसकै अगुवाइमा निर्माण र घोषणा भएको संविधानको अपमान हुने गरी कांग्रेस महामन्‍त्रीले अभिव्यक्ति दिएको भन्दै नागरिकस्तरबाट समेत आलोचना भएको थियो। बुधबार कांग्रेसका महामन्‍त्रीले दिएको अभिव्यक्ति संविधानको प्रावधान विपरीत थियो। संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई जनआन्दोलनको उपलब्धीका रुपमा संस्थागत गरिसकेको छ। 

यसअघि पनि कोइरालाले धर्म निरपेक्षता, गणतन्‍त्र र संघीयताका बारेमा विवादास्पद अभिव्यक्ति दिदै आएका छन्। स्रोतका अनुसार बुधबार कोइराला बोलेपछि कार्यकर्ता पंक्ति र नेतृत्व प‌ंक्तिबाट समेत यसलाई सच्चाउनुपर्ने भन्दै व्यापक दबाब आएको थियो। यस्तो अभिव्यक्ति नसच्चाउँदा कांग्रेस ज्ञानेन्द्र पथमा गएको आरोप लाग्‍ने र जनआन्दोलनको भावनाको समेत अपमान हुने भन्दै उनलाई बोलि सच्चाउन भनिएपछि चितवन पुगेर उनले अर्को अभिव्यक्ति दिएका हुन्। 

कांग्रेसका नेतृत्वबाट आउने विरोधाभाषपूर्ण अभिव्यक्तिका कारण पछिल्लो समय कांग्रेस आम आलोचनाको सिकार भएको छ।सिके राउतसँग सरकारले गरेको सम्झौता र विप्लव नेतृत्वको माओवादीलाई लगाइएको प्रतिबन्धबारे पनि कांग्रेसबाट फरक फरक खालका अभिव्यक्ति आएका थिए। सिके राउतसँगको भएको सम्झौताको सुरुमा स्वागत गरेका कांग्रेसले पछि आफ्न‌ो बोलि सच्चाएर सरकारको आलोचना गर्‍यो। सभापति शेरबहादुर देउवाले सुरुमा सकारात्मक कदम भनेका थिए पछि फेरि राष्ट्रघाती सम्झौताको संज्ञा दिए। 

राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा कांग्रेसले संगठित र संस्थागत धारणा बनाउन नसक्दा कांग्रेसको भूमिका झन् कमजोर हुँदै गएको टिप्पणी नागरिकस्तरबाट हुन थालेको छ। एउटै विषयमा नेतापिच्छेका फरक फरक धारणा अनि एउटै नेताबाट एउटै विषयमा केही दिन बिराएर फेरिने बोली कांग्रेसी कार्यकर्तासमेत अन्योलमा पर्न थालेका छन्।

याे पनि पढ्नुस्

शशांक कोइराला भन्छन् : 'संघीयता, गणतन्त्र र हिन्दु राष्ट्रमा जनमत संग्रह'




प्रतिक्रिया