शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • जापान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी

जापान भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य जारी

 |  शुक्रबार, साउन १५, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०८३

काठमाडौं। जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पका कारण एक व्यापारिक केन्द्रमा विस्फोट भएको, एउटा कारखानाको चिम्नी ढलेको तथा धेरै घरमा क्षति पुगेको छ।

मंगलबार जापानको दक्षिणी मुख्य टापु क्युसुमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। अधिकारीहरूका अनुसार हालसम्म ३४ जनाको मृत्यु पुष्टि भइसकेको छ भने थप एक जनाको मृत्युबारे अनुसन्धान भइरहेको छ।

भूकम्पमा ८० भन्दा बढी व्यक्ति घाइते भएका छन्। तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। यस्तै, तीन हजार पाँच सयभन्दा बढी घरमा अझै विद्युत् सेवा अवरुद्ध छ भने नौ हजारभन्दा बढी मानिस अस्थायी आश्रयस्थलमा बसिरहेका छन्। ती आश्रयस्थलमा विद्युत् आपूर्ति सुनिश्चित गर्न थप व्यवस्था गरिएको छ। भूकम्पपछि अत्यधिक गर्मीका कारण स्वास्थ्य समस्या बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ।

कुमामोटो क्षेत्रमा शुक्रबार पनि उद्धार कार्य जारी रहेको छ। सबैभन्दा बढी क्षति पुगेको काशिमा नगरस्थित व्यापारिक केन्द्रमा उद्धार टोलीले खोजी कार्य गरिरहेको छ। भूकम्प आएको बेला उक्त व्यापारिक केन्द्रमा हजारौं मानिस उपस्थित थिए।

सञ्चालक कम्पनीका अनुसार व्यापारिक केन्द्रको अर्को भागमा विस्फोट हुनुअघि करिब तीन हजार ग्राहकलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। विस्फोटपछि भवनको दोस्रो तला भत्किँदा केही व्यक्ति भित्रै फसेका थिए।

जापान सरकारका मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले घटनास्थलमा सात जनाको मृत्यु पुष्टि भएको र ११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्। यद्यपि, अझै कति व्यक्ति बेपत्ता छन् भन्ने विवरण सार्वजनिक गरिएको छैन।

यसैबीच, यात्सुशिरो क्षेत्रमा रहेको कागज उद्योगको कारखानामा भूकम्पका कारण चिम्नी ढलेपछि सञ्चालन गरिएको उद्धार अभियान सम्पन्न भएको छ। त्यहाँबाट ११ जनाको सकुशल उद्धार गरिएको छ भने नौ जनाको मृत्यु पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित: Jul 31, 2026| 17:14 शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्