सोमबार, वैशाख ३१, २०८१

कुलमान सक्रियताको अर्थ

दोस्रो पटक कार्यकारी निर्देशक भएका कुलमान पछिल्लो समय जति सक्रिय छन् सोअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन। यद्यपि विभिन्न आयोजना र सबस्टेसनहरुकाे अवलोकनपछि उनी थप हौसिएका छन्।
 |  बिहीबार, मंसिर २, २०७८

प्रेम चन्द

प्रेम चन्द

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– दोस्रो पटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि तीन महिनामा कुलमान घिसिङले अधिकांश समय देश दौडाहामा बिताएका छन्। निर्माणाधीन आयोजना स्थल, औद्योगिक करिडोर र प्राधिकरणका कार्यालयमा पुगेर विद्युत् व्यवस्थापनका लागि निर्देशन दिन व्यस्त छन् उनी। यति मात्र होइन, उनले नियुक्त भएको केही समयपछि नै भारतको बिहारमा पुगेर त्यहाँका अधिकारीहरूसँग लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर गरे। 

triton college

नागरिकस्तरको दबाबका कारण पनि दोस्रो पटक कार्यकारी निर्देशक भएका कुलमान पछिल्ला समय जति सक्रिय छन् सोअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन। यद्यपि विभिन्न आयोजना र सबस्टेसनहरुकाे अवलोकनपछि उनी थप हौसिएका छन्।

उनलाई उच्च सरकारी स्तरबाट घोषणा भएका कार्यक्रम कार्यान्वयन गरिहाल्न सहज छैन भने आन्तरिक खपत नभएर निर्यात गरेको पनि मुलुकका कतिपय पहाडी तथा हिमाली क्षेत्रमा विद्युत् पुर्‍याउन नसकेको अवस्था छ। उनी भन्छन्, ‘भ्याएसम्म सक्रिय छु। परिणाम त बिस्तारै आउला।’

भारतसँग विद्युत् आदानप्रदानको प्रस्ताव

२४ भदौमा भारतको बिहार गएका घिसिङले मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरे। प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् पूर्वाधार अभावमा देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको हो। नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ।

corrent noodles
Metro Mart

घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिनेछ।

भारत भ्रमणका क्रममा प्राधिकरण र भारत सरकारको स्वामित्वमा रहेको पावर ग्रिड कर्पोरसेन अफ इन्डियाबीच संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको छ। घिसिङले नेपालमा खपत गरेर बचत भएको विद्युत बिक्रीका सम्भावनाका बारेमा भारतको विद्युत् मन्त्रालय, केन्द्रीय विद्युत प्राधिकरण, विहार स्टेट पावर होल्डिङ कम्पनी र नेपालसँग विद्युत् व्यापार गरिरहेका भारतीय कम्पनीहरुसँग छलफल गरेका थिए।

ठूला उद्योगलाई मागेजति बिजुली उपलब्ध गराउन पहल

कार्यकारी निर्देशक घिसिङले ठूला उद्योगलाई मागेजति बिजुली उपलब्ध गराउन पहल थालेका छन्। प्रसारण तथा वितरण लाइनको क्षमता अभावमा उद्योगीलाई मागेअनुसार विद्युत् उपलब्ध गराउन नसकिएको अवस्थामा उनले खपत बढाउने योजनाअनुसार यस्तो पहल गरेका हुन्। सोही क्रममा उनले ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्माणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजना निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए।

चितवनको भरतपुरस्थितबसेनी ग्रिड सबस्टेसनको स्थलगत निरीक्षण गर्दै कुलमान घिसिङ। तस्बिर सौजन्य : नेपाल विद्युत् प्राधिकरण

उद्योगीहरुले मागेजति विद्युत् नपाएको गुनासो गरेपछि कार्यकारी निर्देशक घिसिङले असोज १ गते र २ गते हेटौंडा, सिमरा, वीरगन्ज, भरतपुर, परासी, भैरहवा औद्योगिक करिडोर क्षेत्रको स्थलगत अवलोकन गरी सञ्चालनमा रहेका र निर्माणाधीन प्रसारण तथा वितरण लाइन, सबस्टेसनहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए।

‘एकातर्फ देशभित्र उत्पादित विद्युत् खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिरहेका छौं भने अर्कोतर्फ पूर्वाधार अभावमा उद्योगलाई मागेजति विद्युत् दिन सकिरहेका छैनौं, यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौं’, घिसिङले भने।  उनले होङ्सी सिमेन्ट उद्योग तथा ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए।

यस्तै घिसिङले पूर्वी नेपालका व्यवसायीसँग बसेर मागेजति विद्युत् उपलब्ध गराउने प्रतिबद्धता गरेका छन्। २१ असोजमा छलफल गर्दै उनले यस्तो निर्देशन दिएका  थिए। 

पछिल्लो समय मुलुकमा कुल विद्युत् उत्पादन क्षमता बढेको प्राधिकरणको दाबी छ। दैनिक दिउँसाको समयमा २ सय मेगावाट सर्प्लस रहेको र रातमा ५ सय मेगावाट विद्युत् सर्प्लस रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन्। उत्पादित विद्युत् खेर गएपछि कुलमान आफैं औद्योगिक क्षेत्रमा पुगेर विद्युत् व्यवस्थापनको योजना खोजिरहेका छन्। त्यही सन्दर्भमा उनी शनिबार नवलपरासी क्षेत्रका ठूला उद्योगमा पुगेका थिए। त्यहाँ उनले निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुका साथै उत्पादित विद्युत् खपतबारे छलफल गरेका थिए। 

घिसिङ कात्तिक तेस्रो साता चितवन पुगेका थिए। चितवनको भरतपुरमा ट्रान्सफर्मर बिग्रेर लामो समयसम्म विद्युत् आपूर्ति नभएपछि कुलमान आफैं त्यहाँ पुगेर कर्मचारीलाई थर्काएका थिए। लामो समयसम्म विद्युत् जाने समस्या रहेपछि उनले समस्या सामाधानका लागि पहल किन नगरेको भन्दै कर्मचारीसँग स्पष्टीकरण लिए। 

बाह्रबिसे सबस्टेसन सुधार्न अल्टिमेटम

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएका छन्।

सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम दिएको हो।

खिम्ती, तामाकोसी र भोटेकोसी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न लागिएको छ। कात्तिक १३ गते घिसिङसहितको टोलीले मध्यभोटेकोसी आयोजनाको निर्माणको प्रगतिका सम्बन्धमा जानकारी लिएको थियो।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायक, केवल टीभी लगायतसँग पोलको भाडा माग गरेका घिसिङले त्यसको विवरण भने राखेका छैनन्। 

धेरैभन्दा धेरै बिजुली स्वदेशमा खपत गराउने उद्देश्य

नेपालको विद्युत् स्वदेशमै खपत गर्ने वातावरण बनाउने उद्देश्य रहेको उनी बताउँछन्। देश दौडाहामा किन त भन्ने जिज्ञासामा कुलमानले नेपाल समयसँग भने, ‘उद्योगका साथीहरुले  मागेजति विद्युत पाएनौं भनेर गुनासो गरे। अनि उद्योगउद्योगमा गएर विद्युत् कति खपत भइरहेको छ भनेर अवलोकन गरेका हौं।’ उनका अनुसार धेरैजसो उद्योगले जति स्वीकृति लोड छ, त्यो बराबर खपत गरेका छैनन्। 

कुलमानले भने, ‘हामीले स्वीकृत गरेर दिएको लोड बराबर  उद्योग चलेको देखिएन। कसैले १० मेगावाटको स्वीकृति लिएर पाँच मेगावाट मात्र चलाइरहेका छन्।’ यद्यपि सिमेन्टको माग घट्यो भने सिमेन्ट उद्योगले पावर प्लान्ट कम चलाउँछन्। मागजति विद्युत् चलाउँदैनन्।

उनले भने, ‘त्यही भएर हामीले थप माग गरेमा दिन्छौंं।’ कसैले ठूलो उद्योग स्थापना गर्दैछ र एक वर्षभित्र चाहियो, ६ महिनाभित्र चाहियो भनेमा तत्काल स्वीकृति दिएको उनको भनाइ छ। उनले उद्योगलाई बढीभन्दा बढी खपत कसरी गराउन सकिन्छ भनेर प्राधिकरण लागिपरेको बताए।

प्राधिकरण केही खेर गइरहेको बिजुली नेपालमै खपत गराउने पक्षमा छ। सबस्टेसन र १३२ केभीको लाइन पनि आवश्यकताअनुसार थप्दै जाने योजनामा प्राधिकरण रहेको कुलमानले सुनाए। उनले भने, ‘कहाँ आवश्यक पर्छ? कहाँ सबस्टेसन आवश्यक पर्छ? त्यो पनि आवश्यकताअनुसार तत्काल बनाउने गरेर योजना बनाइरहेका छौं।’ 

सजिलो छैन चुनौती सामना गर्न

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा दोस्रो पटक पदभार ग्रहण गर्दै कुलमान घिसिङले आफूमाथि चुनौती थपिएको प्रतिक्रिया दिएका थिए। पछिल्लो समय विद्युत् उत्पादन बढिरहेकाले खपतका लागि आधार तय गर्न निकै चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। 

२०७३ सालमा पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएपछि विद्युत् चोरी रोक्दै १८ घण्टासम्मको लोडसेडिङको करिब अन्त्य गरेको जस घिसिङमाथि छ। पहिलो कार्यकालमा घिसिङले विद्युत् चोरी रोक्न मिलेमतो गर्ने २५ सय कर्मचारीलाई सरुवा गरे र न्यून क्षमताका बल्ब प्रयोग गराउने अभियान चलाएका थिए।

त्यति बेला कर्मचारीको सरुवा र न्यून क्षमताका बल्ब प्रयोग गर्ने अभियानका कारण विद्युत् माग व्यवस्थापनमा निकै सहयोग पुगेको ऊर्जाविद् प्रा. जगन्नाथ श्रेष्ठ बताउँछन्।

२०७३ को लक्ष्मीपूजाका दिन गरिएको परीक्षणमा लोडसेडिङ अन्त्य गर्न सम्भव देखिएपछि त्यसपछिका केही महिनामै काठमाडौं उपत्यकालगायतका ठाउँमा सर्वसाधारणले महसुस गर्ने गरी लोडसेडिङ अन्त्य भयो।

ऊर्जामन्त्री पम्फा भुसाल र मन्त्रालयका कर्मचारीहरुसँग कुलमान घिसिङ।  

उनले त्यो समयमा न्यून क्षमताका बल्ब प्रयोग गर्ने अभियान सुरु गर्दा सर्वसाधारणले पनि साथ दिएका थिए। घिसिङको कार्यकाल सकिएपछि २०७७ कात्तिकमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो। पछिल्लो समय गत आसार अन्तिम साता कांग्रेस र माओवादी गठबन्धनको सरकार आएपछि गत भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भए। 

पछिल्लो समय ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रुपमा सञ्चालनमा आउन लागेसँगै विद्युत् खपत बढाउने चुनौती प्राधिकरणमाथि छ। पहाडी क्षेत्रका कतिपय ठाउँमा संरचना तयार भएर पनि विद्युत् पुग्न सकेको छैन।

सरकारले विद्युतीय चुलो प्रयोग बढाउने नीति तथा कार्यक्रममा राखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक कार्यक्रममा विद्युतको आन्तरिक खपत अपरिहार्य रहेको बताएका छन्।

प्राधिकरणले गत आइतबार मात्रै नवलरासीमा रहेको होङ्सी सिमेन्ट उद्योगलाई राष्ट्रिय प्रसारणलाइनमार्फत ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ। जसले दैनिक ६० हजार लिटर डिजेललाई प्रतिस्थापन गर्ने बताइएको छ।

भारतले नेपालको विद्युत् खरिद नगरेमा समस्या हुने भन्दै आन्तरिक खपत बढाउन विद्युतीय चुलो एवं विद्युतीय सवारीको प्रयोग बढाउन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्। विगत तीन आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश हुँदै आएको उक्त कार्यक्रम कार्यान्वयनका लागि सरकार लागिरहेको छ।

पहाडी तथा हिमाली क्षेत्रमा बिजुली नपुगेको मात्र होइन सहरी क्षेत्रमा समेत क्षमताअनुसारका फ्युज नभएका र नियमित गुणस्तरीय विद्युत् आपूर्ति नरहेको अवस्था छ। उनी भन्छन्, ‘यस्ता धेरै चुनौती छन्। यिनको समाधानमा लागि सक्दो पहल भइरहेको छ।’

पछिल्लो समय उद्योगमार्फत विद्युत खपत बढाउने भन्दै औद्योगिक क्षेत्रमा समेत बजार खोजी भइरहेको उनी बताउँछन्। प्राधिकरणले गत आइतबार मात्रै नवलरासीमा रहेको होङ्सी सिमेन्ट उद्योगलाई राष्ट्रिय प्रसारणलाइनमार्फत ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ। जसले दैनिक ६० हजार लिटर डिजेललाई प्रतिस्थापन गर्ने बताइएको छ।

कुलमानकै शब्दमा आगामी योजना

विद्युतीय उपकरणको प्रयोग बढी भन्दा बढी नै होस् भन्ने हाम्रो मान्यता हो। विद्युतीय उपकरण आजै आएर आजै खपत गराऔं भन्नु भयो भने त्यो आजै प्रयोग बढ्नेवाला छैन। यसलाई त समय लाग्छ। यसपालि १० प्रतिशत बढ्यो भने अर्को वर्ष १० प्रतिशत होला। तर, तत्काल खपत हुने भनेको ठूला उद्योगमा हो।

त्यस्ता उद्योगलाई प्रोत्साहन गर्न अति जरुरी छ। त्यहीअनुसार हामीले रातदिन लगाएर होङ्सी सिमेन्टलाई विद्युत् दियौं। त्यहाँ एकैचोटि २०/३० मेगावाट विद्युत् खपत हुन्छ। उनीहरुले अरु थप ३० मेगावाट लिने भनेका छन्। योचाहिँ तत्काल आउने लोड हो। अब हाम्रो नीतिले आउने भनेको चाहिँ बिस्तारै हो। त्यसको चिन्ता छँदै छैन नि। त्यो त आउँदै गर्छ, खपत हुँदै गर्छ। इन्डक्सन, चार्जिङ स्टेसन भन्ने कुराहरु आउँदै गर्छन्, खपत हुँदै गर्छ।

टेलिकम टावरमा लाइन नपुग्नु हाम्रो समस्या हैन

आफ्ना टावर क्षेत्रमा बिजुलीको विस्तार गर्ने जिम्मेवारी नेपाल टेलिकमको पनि हो। त्यस्ता क्षेत्रमा हामीले लगानी बढाउनुपर्ने त हैन। टेलिकमले आफूलाई चाहिने लाइन बनाउँदैन भने डिजेल र सौर्यबाटै चल्छ नि। टावरमा थोरै खपत हुने हो। तर टेलिकमले लाइन लानुपर्यो। कहाँ चाहिन्छ? भन्नुपर्यो, हामी दिन तयार छौं।

त्यसो त टेलिकमले सुरुदेखि नै डिजेलले चलाइरहेको छ। उनीहरुलाई त्यही सजिलो भइरहेको छ। लाइन लैजान केही खर्च गर्नुपर्छ। पहाडको टुप्पोमा हुन्छ, गाउँ हुँदैन। दुईतीन किलोमिटर लाइन बनाउनुपर्छ। पोलका लागि रुख काट्नुपर्ने लगायतका समस्या छन्। हामीले लाइन नदिए पो हाम्रो समस्या हुन्छ। 

प्रकाशित: Nov 18, 2021| 17:21 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्