काठमाडौं- सरकारले पशुजन्य मासुमा मुलुक आत्मनिर्भर घोषणा गरे पनि दसैंका लागि खपत हुने मासुमा समेत मुलुक परनिर्भर रहने गरेको पाइएको छ।
गत चैत दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक दूध र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका थिए। तर त्यसयता जिउँदो खसीसमेत भारतबाट आयात भइरहेको छ भन्सार विभागका अनुसार साउन र भदौमा मात्रै भारतबाट पौनै ११ करोड रुपैयाँ बढीको खसी आयात भएको छ।
साउन र भदौमा गरी १२ हजार ४३ खसी–बोका भारतबाट आएका छन्। ती खसी–बोका ल्याउन १० करोड ८२ लाख ८८ हजार रुपैयाँ बाहिरिएको छ। चौपाया व्यवसायीका अनुसार भारतबाट आयात भएका खसी–बोकाको ठूलो हिस्सा काठमाडौं उपत्यकामा खपत हुने गरेको छ।
काठमाडौं उपत्यकामा २५ देखि ३५ हजार खसी–बोकाको माग छ। यो गत दसैंको तुलनामा ८ देखि १० हजारले कम हो।
चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष दीपक थापा उपत्यकामा अहिले भारतबाटै आयात भएका खसी उपलब्ध रहेको बताउँछन्। ‘अहिले काठमाडौं उपत्यकामा भारतबाटै आयात गरिएका खसी बिक्री भइरहेका छन्। उपत्यकामा खपत हुने कूल मासुको करिब ४० प्रतिशत भारतबाटै आयात भएकाले धानिरहेको छ,’ थापा भन्छन्, ‘स्थानीय खसी–बोका काठमाडौं उपत्यकामा आइपुगिसकेका छैनन्।’
चौपाया व्यवसायी संघको आंकलनअनुसार काठमाडौं उपत्यकामा २५ देखि ३५ हजार खसी–बोकाको माग छ। यो गत दसैंको तुलनामा ८ देखि १० हजारले कम हो।
यस वर्ष कोरोनाको कारणले सर्वसाधारणलाई आर्थिक अभाव भएको, मासुको मूल्य बढेको लगायतका कारण खसीको माग पोहोरको भन्दा घटेको थापाको भनाइ छ। ‘अहिले खसी बोकाको मासु ५० रुपैयाँदेखि ८० रुपैयाँ प्रतिकेजीसम्म महँगो पर्ने देखिन्छ,’ थापा भन्छन्, ‘महँगी भयो, कोरोनाका कारण गुमेको रोजीरोटीले मान्छेको आम्दानी घटेका लगायतका कारणले तुलनात्मक रूपमा माग कम भएको हो।’
अहिले निजी व्यवसायीले उपत्यकामा सल्लाघारी, टुकुचा, कलंकी, बालाजुलगायत विभिन्न ठाउँमा राखेर खसी बिक्री गर्ने गरेका छन्। हालसम्म भारतबाटै आयात भइरहेको खसीको कारोबार भए पनि आइतबार–सोमबारदेखि स्थानीय खसी पनि उपत्यकामा आइपुग्ने थापाको भनाइ छ। उनका अनुसार काठमाडौंमा सुर्खेत, सल्यान, जाजरकोट, कर्णाली चिसापानी, हेटौंडालगायतका ठाउँबाट खसी ल्याइन्छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि बजार मूल्य उपभोक्तालाई थाहा होस् भन्ने उद्देश्यले खसीबोका बिक्री गर्न थालेको जनाएको छ। शनिबारदेखि बिक्री गर्न थालेको कम्पनीले ज्यूँदो खसीको मूल्य प्रतिकेजी ६४० रुपैयाँका दरले तोकेको छ। बजार मूल्य हेरेर कम्पनीले खरिद गरेको, ढुवानी लागत जोडेर उक्त मूल्य तोकिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालले बताए।
व्यवसायीले आन्द्राभुँडीसहितको मासु प्रतिकेजी १ हजार रुपैयाँ, बोसो राखिएकाको १ हजार २०० रुपैयाँ र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य १ हजार ३०० रुपैयाँ प्रतिकेजी तोकेका छन्।
‘यस वर्ष तीन हजार खसीबोका ल्याएर बिक्री गर्ने लक्ष्य हो,’ खनालले भने, ‘खरिद गरेको लागत, ढुवानीको हिसाब गरेर मूल्य कायम गरेर प्रतिकेजी १० रुपैयाँका दरले छुट गर्ने हो।’
व्यवसायीले भने ज्यूँदो खसीको मूल्य प्रतिकेजी ६५० रुपैयाँ देखि ६८० रुपैयाँ प्रतिकेजीसम्म कायम गरेको अध्यक्ष थापाको भनाई छ। ‘ल्याउने मान्छेको लगानी प्रतिकिलो ६५० परेको छ भने ६७० रुपैयाँमा बेच्नेगरी मूल्य तोकिएको छ,’ थापा भन्छन्, ‘६८० रुपैयाँ लागत पर्यो भने सात सयमा बिक्री गर्छन्।’
व्यवसायीका अनुसार दसैंको समयमा कुखुरा, बङ्गुर राँगाभन्दा खसी–बोकाको मासु बढी खपत हुने गरेको छ। सो अनुसार व्यवसायीले उपत्यकामा मासुको मूल्यसमेत कायम गरेका छन्। खसीको मासुमा तीन थरी मूल्य कायम गरेका छन्। व्यवसायीले आन्द्राभुँडीसहितको मासु प्रतिकेजी १ हजार रुपैयाँ, बोसो राखिएकाको १ हजार २०० रुपैयाँ र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य १ हजार ३०० रुपैयाँ प्रतिकेजी तोकेका छन्। उक्त मूल्य फूलपातीदेखि लागू हुनेछ।