काठमाडौं– सरकारले अघिल्लो आर्थिक वर्ष २०७६–०७७को बजेटमार्फत नवलपरासीमा रहेको धौवादी फलाम खानी उत्खनन् गर्ने नीति लियो। सोही अनुसार सरकारकै मातहतमा रहनेगरी धौवादी फलाम खानी कम्पनी लिमिटेड स्थापना पनि भयो। २०७६ फागुनदेखि काठमाडौंको लैनचौरमा कार्यालय स्थापना गरेर काम सुरु भएको थियो।
सोही वर्ष चैतदेखि नेपालमा कोरोना भाइरस महामारी सुरु भयो। महामारी नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण कम्पनीले सुरुदेखि आपेक्षा अनुसार काम अघि बढाउन नसकेको कम्पनीका अधिकारीहरु बताउँछन्। यद्यपि, पछिल्लो समय केही महत्वपूर्ण काम सम्पन्न गरेको दावी कम्पनीले गरेको छ।
धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकबहादुर चन्द पछिल्लो समय कम्पनीले महत्वपूर्ण काम सम्पन्न गरेको दावी गर्छन्। ‘कोरोना महामारीसँगै कम्पनी अस्तित्वमा आयो। पछिल्लो समय ड्रिलिङ गर्ने काम, नवलपरासीमा रहेको फलाम खानी जाने सडक निर्माणको काममा निकै प्रगति भएको छ,’ उनले भने।
चीनस्थित प्रयोगशालाबाट फलाम उत्पादन परीक्षण प्रतिवेदन आइसकेको छ। प्रतिवेदन अनुसार पिग आइरन बनाउन सकिने ३ सय स्याम्पलको रासायनिक परीक्षणसमेत भइसकेको छ।
कम्पनीको प्रगति विवरण अनुसार अहिले फलाम खानीको गहिराइमा खन्ने काम (ड्रिलिङ) ७ सय मिटर पुगिसकेको छ। कम्पनीले धौवादी फलाम खानीको भण्डारण प्रमाणिकरणको लागि १ हजार ३ सय मिटर गहिराइमा खन्नुपर्ने आवश्यकता औंल्याएको थियो। ५ वटा भन्दा बढी होल बनाएर पछिल्लो समय ७ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ। गत माघ अन्तिम सातासम्म उक्त ड्रिलिङ १४४ मिटर रहेको थियो। ‘कम्पनी सुरु भएदेखि नै कोरोना महामारी पनि सुरु भएको प्रतिकुल अवस्थामा काम भएको छ,’ चन्द भन्छन्।
यस्तो छ प्रगति
कम्पनीको प्रगति विवरण अनुसार ड्रिलिङ सम्पन्न भइसकेको ७ सय मिटरबाट स्याम्पल लिएर जियोटेक्निकल, केमिकल र जियोलोजिकल परीक्षण भइरहेको छ। यसअघि ५ टन खनिज नमुनाको म्याग्नेटिक तथा फ्लोटेसन विधिबाट प्रशोधन लगायतबाट उत्पादनको सफल परीक्षण भएकोमा त्यसको अन्तिम प्रतिवेदनमाथि छलफल भइरहेको छ।
त्यस्तै चीनस्थित प्रयोगशालाबाट फलाम उत्पादन परीक्षण प्रतिवेदन आइसकेको छ। प्रतिवेदन अनुसार पिग आइरन बनाउन सकिने ३ सय स्याम्पलको रासायनिक परीक्षणसमेत भइसकेको छ। करिब ३ सय स्याम्पल नेपालकै केमिकल ल्याबमा पठाइएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले महत्वपूर्ण कामको रुपमा परामर्शदाता छनोटको काम टुङ्गिएकोलाई पनि लिएको छ। कम्पनीले उत्खनन्पछि उद्योग सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि ११ वटा अन्तर्राष्ट्रिय परामर्शदाताबाट प्रस्ताव माग गरेको थियो। उक्त प्रस्ताव प्राप्त गरेपछि मूल्याङ्कन समितिले ६ वटा कम्पनीलाई सर्टलिस्टेड गरेको छ। ती कम्पनीहरुमा चीन, साउथ अफ्रिका, अष्ट्रेलिया र भारतका छन्। ६ वटा कम्पनीले फलाम उत्खनन्को प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नेछन्। उक्त प्रस्तावभित्र फलामको उत्पादन, उत्पादन लागत लगायतका बारेमा जानकारी पाइने कम्पनीका अधिकारी बताउँछन्।
कम्पनीका सीईओ चन्द भन्छन्, ‘अहिलेसम्मका प्राप्त आधारअनुसार धौवादी फलाम खानीबाट व्यावसायिक उत्खनन् गर्न सकिनेमा कम्पनी ढुक्क छ।’ सोहीअनुसार उद्योग स्थापनाको अध्ययन पनि अगाडि बढाएको छ। फलाम उद्योग स्थापनाका लागि जग्गा प्राप्ति, खानी पहुँचमार्ग निर्माण, विद्युतीय प्रसारण लाइन विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको कम्पनीले जानकारी दिएको छ।
खानी पहुँच मार्ग १५ किलोमिटर बनाउनुपर्नेमा हालसम्म ६ किलोमिटरमा ग्रावेल गर्ने काम सम्पन्न भएको छ। समग्रमा सडक निर्माणको काम २० प्रतिशत सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार खानी पहुँच मार्ग १५ किलोमिटर बनाउनुपर्नेमा हालसम्म ६ किलोमिटरमा ग्रावेल गर्ने काम सम्पन्न भएको छ। समग्रमा सडक निर्माणको काम २० प्रतिशत सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले प्रस्तावित उद्योग क्षेत्रसम्म विद्युत लाइन विस्तारका लागि विद्युत प्राधिकरण अन्तर्गत धौवादी फलाम खानी विद्युत प्रसारण निर्माण आयोजनासँग समन्वय भइरहेको जानकारी दिएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०७८–०७९मा बजार सर्वेक्षण गर्ने योजना बनाएको छ। बजार सर्वेक्षणमा बजारमा फलामको मागबारे जानकारी लिइने चन्दले बताए।