काठमाडौं- लकडाउनपछि जनजीवन सामान्य हुन थालेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएको छ।
गत वर्ष २०७६ चैतमा लकडाउन भएपछि घटेको पेट्रोलियम पदार्थको मूल्य असारमा लकडाउन खुकुलो पारेयता निगमले ११ पटक बढाएको हो।
गत वर्ष चैत पहिलो सातादेखि नै कोरोना भाइरसको त्रास भएपछि ११ चैतबाट सरकारले लकडाउन घोषणा गरेको थियो। लकडाउनसँगै अत्यावश्यक वस्तु ओसारपसार गर्नेबाहेकका सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भयो।
विकास निर्माणका कामसमेत रोकिए। फलस्वरुप पेट्रोलियम पदार्थको खपत घट्न थाल्यो। खपत घट्न थालेसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन थाल्यो।
२०७६ चैत ३ गते नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ थियो। त्यसपछि चैत १९मा पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८५मा झर्यो।
२०७७ जेठसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन भएनन्। त्यसबीचमा निगमले पेट्रोलियम पदार्थको मूल्यमा कुनै घटबढ गरेन।
लकडाउनले सर्वसाधारणको दैनिकी दयनीय बन्दै गएपछि सरकारले असारमा लकडाउन खुकुलो पार्यो। लकडाउन खुकुलो भएसँगै सर्वसाधारणको आवतजावत पनि बढ्न थाल्यो। त्यसपछि भने आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउन सुरु गर्याे।
असार १६ मा पेट्रोलको मूल्य १०१ रुपैयाँ प्रतिलिटर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरियो।
असार १६ मा बढाएको मूल्यसहित निगमले ३ चैत (मंगलबार) सम्म ११ पटक पेट्रोलको मूल्य बढाएको छ।
कहिले कति बनाइयो पेट्रोल/डिजेलको मूल्य
निगमका अनुसार असार १६ पछि असार २६ मै पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो। असार २६ मा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८८ कायम गरियो।
त्यस्तै साउन १७ मा पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको थियो। साउन ३२ मा पेट्रोल प्रतिलिटर १०५ र डिजेल तथा मट्टितेल ९१ रुपैयाँ बनाइयो।
भदौ १६ मा पेट्रोलको मूल्य १०७ रुपैयाँ प्रतिलिटर कायम गरियो। त्यो बेला डिजेल तथा मट्टितेलको मूल्य भने यथावत राखिएको थियो।
भदौ ३१ मा पेट्रोलको मूल्य यथावत राख्दै निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँमा झार्यो। असोज १५ मा पनि पेट्रोलको मूल्य यथावत राख्दै डिजेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ पुर्याइयो।
त्यसपछि कार्तिक महिनामा पेट्रोलियम पदार्थको मूल्यमा कुनै हेरफेर भएन। मंसिरयता भने पेट्रोल, डिजेल र मट्टितेलको मूल्य निरन्तर बढ्दो क्रममा छ।
मंसिर २७ यता निगमले प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाइरहेको छ। २७ मंसिरमा पेट्रोलको मूल्य १०८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम गरियो। माघ ५ मा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ कायम गरिएको थियो।
माघ २८ मा पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँका दरले कायम गरिएको थियो। त्यस्तै फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ कायम गरिएको थियो। गत फागुन १७ मा पेट्रोल प्रतिलिटर ११६ र डिजेल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ पुर्याइयो। मंगलबार अर्थात् ३ चैतमा पेट्रोलको मूल्य प्रतिलिटर ११८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ कायम गरिएको छ।
किन बढाउँदै छ निगमले मूल्य ?
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य बढिरहेको जानकारी दिएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले तेलको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले निगमले त्यहीअनुसार समायोजना गर्दै आएको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २० डलर हाराहारी पुग्दा निगमले १०-१० रुपैयाँ प्रतिलिटर घटाएको हो’ उनले भने, ‘अहिले अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दा यता पनि बढिरहेको छ।’
तर, उपभोक्ता अधिकारकर्मीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा घटेकै अनुपातमा नेपालमा नघटाइएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा मात्रै निगमले बढाउने गरेको टिप्पणी राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन गर्छन्। ‘पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि गर्नु सरकारी अराजकता हो’ महर्जनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा थोरै बढ्यो भने बढाइन्छ, घट्दा घटेकै अनुपातमा घटाउने गरिएको छैन।’
निगमले इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम आपूर्ति गर्दै आएको छ। आइओसीले कच्चा तेल खरिद गरेर प्रशोधन गरी आयल निगमलाई बिक्री वितरण गर्दै आएको छ। सोहीअनुसार आइओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पनि पठाउने गरेको छ।
समग्र मूल्य वृद्धिमा असर
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा त्यसको असर दैनिक उपभोग्य वस्तुमा पर्ने जानकारहरु बताउँछन्। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आन्तरिक बजारमा मूल्य वृद्धि गर्न सक्ने बताए। ‘पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिले हाम्रो डोमेस्टिक मार्केटमा वस्तु र सेवाको मूल्य बढाउने भयो’ उनले भने, ‘समग्रमा मुद्रास्फिति चाँहि अलिकति बढाउने नै हुन्छ।’
त्यस्तै उपभोक्ता अधिकारकमी महर्जनले पनि निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले कृत्रिम मूल्य वृद्धि गर्न सक्ने जोखिम बढ्ने बताए। ‘पेट्रोलियममा मूल्य बढाउने सरकारी अराजकताले कृत्रिम मूल्य वृद्धिलाई सहयोग पुग्छ’ महर्जनले भने, ‘गरिब निमुखालाई दैनिक उपभोग्य वस्तु महंगो पर्छ।’