काठमाडौं– सरकारले आगामी वर्ष रासायनिक मल आपूर्ति सहज बनाउने दाबीसहित खरिद प्रक्रिया अगाडि बढाएको छ। यसवर्ष वर्षे र हिउँदे दुवै बालीका लागि मल आपूर्ति गर्न नसकेको सरकारले अर्को वर्षका लागि भारतसँग सरकारी स्तर (जीटुजी)बाटै मल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले आगामी वर्ष रासायनिक मलको अभाव हुन नदिने दाबी गर्दै अहिलेदेखि नै खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। यस वर्षका लागि भने बंगलादेशबाट जीटुजी प्रक्रियामै मल आयात हुने क्रममा छ।
मल आपूर्तिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले परराष्ट्र मन्त्रालयमा सम्झौतापत्र पठाएको छ। फागुन ५ गते परराष्ट्र मन्त्रालयमा पठाइएको सम्झौतापत्र परारष्ट्रले भारतीय दूतावासमा पठाएको मन्त्रालयका सचिव कार्कीले बताए। दूतावासबाट आएको प्रतिक्रियाबारे भने मन्त्रालयलाई जानकारी नभएको उनले बताए।
त्यसो त भारत सरकारसँग जीटुजी प्रक्रियामा मल खरिदको प्रयास यसअघि असफल भएको थियो। सन् २०१८ जुलाईमा नेपाल र भारत सरकारबीच मल खरिदका लागि सम्झौता भएको थियो। तर, भारतले आवश्यक परिमाणमा मल दिएन। त्यसपछि नेपालले मल खरिदका लागि टेन्डर प्रक्रिया नै अपप्नायो। सुरुको प्रक्रियाबाट मल आएन। फेरि टेन्डरमा जाँदा ढिलो भइसकेको थियो।
कृषि विकास मन्त्रालयका सचिव कार्की यसपालि पहिलेको जस्तो विलम्ब नहुने दाबी गर्छन्। भारत निकै सकारात्मक रहेकोले अहिलेको प्रक्रिया सफल हुने उनको विश्वास छ।
‘भारतमै उत्पादन हुने मल उपलब्ध गराउन भनेका छौं। यसपालि मल आउने निश्चित छ,’ उनले भने। कार्कीका अनुसार मल खरिदका लागि गत माघ पहिलो साता भारतसँग सचिवस्तरीय छलफल भएको थियो। छलफलमा भारतीय पक्षले सकारात्मक प्रतिक्रिया दिएको मन्त्रालयका अधिकारीहरु बताउँछन्। ‘एक पटक सफल भएन भनेर छोड्ने कुरा हुँदैन। सगरमथा आरोहण गर्नेहरु पनि त एकपटकमा सफल नहुँदा पटक–पटकको प्रयासपछि सफल भएका छन्। हामीले पनि पहल गरिराख्ने हो,’ उनले भने।
सचिव कार्कीका अनुसार नेपालले पहिलो चरणमा भारतसँग तीन वर्षका लागि युरिया र डीएपी मल खरिदको सम्झौता गर्न प्रस्ताव गरेको छ। पहिलो चरणमा सफल भएपछि अर्को चरणमा पाँच वर्षका लागि सम्झौता गरिने कार्कीले बताए।
बंगलादेशबाट पनि सरकारी स्तरमै आउँदै
किसानले समयमा मल नपाएको गुनासो बढेपछि गत भदौमा सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने पहल गरेको थियो। तर पैंचोमा मल आयात गर्न झन्झट हुने देखिएपछि सरकारी स्तरमा नै आयातको प्रक्रिया अगाडि बढाइयो। मन्त्रालयका अनुसार अहिले बंगलादेशबाट युरिया मल आयातको प्रक्रियामा छ।
‘बंगलादेशबाट मल आउने क्रम सुरु भइसकेको छ। अर्को वर्ष रासायनिक मलको समस्या हुँदैन,’ सचिव कार्कीले भने। बंगलादेशबाट ५० हजार टन रासायनिक मल आयात गर्ने योजना सरकारको छ। भारतको कोलकाता आइपुगेको मल बोरामा प्याकिङ भएर फागुनभित्रै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।
नेपालमा वार्षिक करिब ७ लाख टन रासायनिक मलको आवश्यकता पर्छ। त्यसमध्ये करिब ४ लाख टन भारतलगायत मुलुकबाट आउँछ भने बाँकी स्वदेशकै प्रांगारिक मलबाट पूर्ति हुने गरेको छ। मल आयातका लागि सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुदान उपलब्ध गराउँदै आएको छ।