मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

५० करोडको आँसु !

किसानले अहिले उद्योगीहरुबाट ३५ करोड रुपैयाँ र सरकारी अनुदानबापतको करिब १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।
 |  शुक्रबार, साउन १५, २०७८
nespernesper

प्रेम चन्द

प्रेम चन्द

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- बेच्दा तत्कालै पैसा पाइने भएकाले उखुलाई सरकारले नगदे बालीको सूचीमा राखेको छ। तर, पछिल्लो समय किसानले उखु बेचेको पैसा वर्षौंसम्म नपाइने भएपछि  नगदे बालीको नै बदनाम भइरहेको छ। 

triton college

उखुको पैसा पाउन किसानले बर्सेनि सास्ती बेहोर्नु परिरहेको छ। पसिना बगाएर उब्जाएको बालीको मूल्य पाउन वर्षैपिच्छे आँशु बगाउनु परिरहेको छ। गत वर्ष काठमाडौं आएर तराईका उखु किसानले आन्दोलन नै गरे। आन्दोलनपछि सरकारले

उखु बेचेको पैसा दिलाइदिने भन्दै किसानसँग सहमति गर्यो। तर, किसानले पैसा पाएनन्। अहिले फेरि उनीहरु आफ्नो पसिनाको मूल्यका लागि दौडधूप गरिरहेका छन्। सरकारी निकायहरुमा धाइरहेका छन्।  

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम राय फेरि आन्दोलन गर्न बाध्य नबनाउन सरकारलाई आग्रह गर्छन्। ‘हामीले मिडियामार्फत सरकारको ध्यानाकर्षण गराइसकेका छौं, ५ भदौसम्मको समय दिएका छौं। उक्त समयभित्र सरकारले पैसा दिलाउँछ भन्ने विश्वास छ,’ रायले भने।

किसानले अहिले उद्योगीहरुबाट ३५ करोड रुपैयाँ र सरकारी अनुदानबापतको करिब १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

Metro Mart
vianet

उनलाई अहिलेको सरकारले पैसा दिलाउने विश्वास यसकारण पनि छ कि गत वर्ष प्रतिपक्षमा रहेको पार्टीले अहिले सरकारको नेतृत्व गरिरहेको छ। गत वर्ष किसान आन्दोलनमा कांग्रेसका थुप्रै नेताले समर्थन जनाएका थिए।

संघर्ष समितिका सचिव रायका अनुसार किसानले अहिले उद्योगीहरुबाट ३५ करोड रुपैयाँ र सरकारी अनुदानबापतको करिब १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। यसअघि सरकारी अनुदान र उद्योगीबाट लिनुपर्ने गरी झण्डै ९० करोड बक्यौता रहेकोमा करिब ४० करोड रुपैयाँ आन्दोलन गरेरै पाए। पोहोर सालको हिउँदमा काठमाडौं आएर सडकमा पलेंटी कसेका किसानले बाँकी ५० करोडका लागि फेरि पनि तराई–काठमाडौं दौडधुप गर्नुपरेको छ। 

बुधबार बिहान काठमाडौं आएर सरकारी निकायलाई ध्यानाकर्षण गराएका उखु किसान शुक्रबार तराई फर्किए। उनीहरु अहिले पैसा पाएर फर्किएका होइनन्। सरकारको ध्यानाकर्षण गराएपछि भुक्तानी पाइएला भन्ने आश बोकेर फर्केका हुन्। ‘भदौ ५ गतेसम्म पैसा नपाए फेरि काठमाडौं फर्किनु त छँदै छ। पैसा पाएनौं भने कडा आन्दोलन गर्छौं,’ रायले भने।

उनका अनुसार उद्योगीबाट किसानले पाउनुपर्ने उखुको भुक्तानी रकम करिब ३५ करोड छ। आर्थिक वर्ष २०७४/०७५ देखिको सरकारी अनुदानसमेत उखु किसानले नपाएको उनले सुनाए। ‘पहिलेको र अहिलेको गरी झण्डै १५ करोड अनुदान पाउन बाँकी छ,’ रायले भने।

पछिल्लो समय नगदेबाली नै उधारोमा फस्न थालेपछि उखु किसान पलायन हुन थालेका उखु किसान महासंघका अध्यक्ष कपिलमुनि मैनाली बताउँछन्। ‘फाइदा नहुने भएपछि उखु किसानले बाली लगाउन छाडिरहेका छन्,’ उनी भन्छन्, ‘घटेको उत्पादनले नै किसान पलायन भएको पुष्टि हुन्छ।’

उखुको पैसा दिलाउन माग गर्दै काठमाडौं आएका कतिपय किसानले समेत उखु खेती घटाउँदै गएका छन्।

पछिल्लो ३ वर्षको तथ्यांकअनुसार नेपालमा उखुको उत्पादन निरन्तर घट्दो देखिएको छ। उद्योगीले भुक्तानी रोक्दा किसान पलायन हुन थालेपछि उत्पादनमा कमी आउन थालेको हो। आर्थिक वर्ष २०७४–०७५ मा ३५ लाख ६ हजार टन उखु उत्पादन भएकोमा आव २०७५–०७६ मा पनि सोही परिमाणमा उत्पादन भएको उखु किसान महासंघको तथ्यांक छ।

त्यसयताका वर्षमा भने उखु उत्पादन निरन्तर ओरालो लागेको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७मा ३४ लाख टन उत्पादन भएकोमा गत आव २०७७/०७८ मा ३३ लाख टन उखु उत्पादन भएको छ। उद्योगीलाई बिक्री गरिएको परिमाणको आधारमा उक्त तथ्यांक तयार पारिएको महासंघले स्पष्ट पारेको छ।

यद्यपि यस विषयमा अझै अध्ययन भइरहेको अध्यक्ष मैनाली बताउँछन्। अहिले उखुको पैसा दिलाउन माग गर्दै काठमाडौं आएका कतिपय किसानले समेत उखु खेती घटाउँदै गएका छन्। राय स्वयंले ४ वर्षअघिसम्म १० बिघा जमिनमा उखु खेती गर्दै आएकोमा पछिल्लो समय ४ बिघामा गरिरहेको बताए।

सर्लाहीकै रामविलास महतोले पनि पछिल्लो समय उखु खेती  घटाउँदै लगेको सुनाए। तीन वर्षअघि ३ बिघामा खेती गर्दै आएका महतोले अहिले डेढ बिघामा मात्रै लगाएका छन्। ‘पैसाको अभाव हुन थालेपछि डेढ बिघामा मात्रै लगाएको छु,’ उनले भने।


प्रकाशित: Jul 30, 2021| 19:39 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्