पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको सत्यतथ्य छानविन गर्न भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले छानविन समिति गठन गरेको छ । घटना भएको झण्डै २४ घण्टापछि नेकपाले तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।
नेकपाका प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा नेकपा प्रदेश कमिटी सदस्य पुष्पा बादी र जिल्ला कमिटी सदस्य भिमा थापा रहेका छन् ।
‘प्रेम सम्बन्ध र विवाह प्रसंगका कारण भएको अकल्पनीय एवम् निन्दनीय घटनाको निश्पक्ष छानविन गरी दोषिलाई कानून ममोजिम कडा कारबाही गर्न स्थानीय प्रशासानको गम्भीर ध्यानाकर्षण गराउँदछौँ,’ नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ बर्षिय नवराज विक र सोतीकी १७ वर्षिय सुस्मा मल्लबीचको प्रेम सम्बन्धलाई शनिबार विवाहमा परिणत गर्न खोज्दा स्थानीयले प्रेमी नवराजको कुटपिटपछि हत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । नवराजसँगै सोती गएका चौरजहारी नगरपालिका–१ का टिकाराम सुनार पनि मृत भेटिएका छन् ।
नवराज र टिकाराम दुबैको शव भेरी नदी किनारमा भेटिएको थियो । त्यस्तै भेरी नगरपालिका वडा नम्वर ४ का गणेश विक, वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सन्दीप विक भने अझै बेपत्ता छन् ।
शनिबार प्रेमीकालाई लिन भन्दै नवराज १८ जना साथीहरुलाई लिएर सोती गएका थिए । जसमध्ये १२ जना प्रहरीको नियन्त्रणमा छन् । प्रेमीकाका परिवारले नवराज आएको थाहा पाएपछि स्थानीयको सहयोगमा कुटपिट गरी भेरीमा फालिएदिएको मृतकका आफन्तले आरोप लगाउँदै आएका छन् ।
घटनापछि प्रेमीका सुष्मा, उनका वुवा वीरवहादुर मल्ल, आमा प्रकाशी मल्ल र सोही वडाका वडाध्यक्ष डम्मबरबहादुर मल्लसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा जातिय विभेदका कारण घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जनाए । यद्यपि दुईवटै शवको पोष्टमार्टम रिपोर्ट, पक्राउ परेकाहरुको बयान र अनुसन्धानपछि मात्रै घटनाबारे सत्यतथ्य पत्ता लाग्ने प्रहरीको भनाइ छ ।