काठमाडौं। कोभिड–१९ को लकडाउनपछि अनलाइनमार्फत डाइपर बिक्रीबाट व्यवसायिक यात्रा सुरु गरेको ‘किड्स कटेज’ले आफ्नो छैठौँ शाखा काठमाडौंको बौद्ध महांकालमा सञ्चालनमा ल्याएको छ।
गंगोबु, पोखरा, कुपन्डोल र कपनलगायतका स्थानमा शाखा विस्तार गरिसकेको किड्स कटेजले पछिल्लो पटक महांकालमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
उपभोक्ताको विश्वास र माग बढ्दै गएपछि सेवा विस्तारलाई तीव्रता दिइएको सञ्चालक किशोर जिसीले बताए। अष्ट्रेलिया जाने योजनालाई त्यागेर नेपालमै व्यवसाय सुरु गरेका जिसीले आफूले भोगेको समस्याबाट ‘किड्स कटेज’को व्यवसायिक अवधारणा विकास भएको बताए। उनका अनुसार गर्भावस्थादेखि बच्चा जन्मिसकेपछि आवश्यक पर्ने विभिन्न सामग्री किड्स कटेजमा उपलब्ध छन्।
‘गर्भवती अवस्था र आमा बनिसकेपछि प्रयोगमा आउने ५० हजारदेखि एक लाख रुपैयाँसम्मका सामग्रीसमेत किड्स कटेजमा उपलब्ध छन्,’ सञ्चालक जिसीले भने।
आफ्नै अनुभव र समस्याबाट व्यवसायको अवधारणा विकास गरेको बताउँदै जिसीले तय गरिएको रोडम्यापअनुसार व्यवसायलाई विस्तार गर्दै लगिएको जानकारी दिए। ‘आफूले पाएको समस्याबाट व्यवसायिक अवधारणाको विकास भएको हो। त्यही रोडम्यापअनुसार व्यवसायलाई विस्तार गर्दै अघि बढिरहेका छौँ,’ उनले भने।
किड्स कटेजले हाल ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ। आगामी दुई वर्षभित्र रोजगारीको संख्या पाँच सय पुर्याउने लक्ष्यसहित व्यवसाय विस्तारको योजना अघि बढाइएको सञ्चालक जिसीले बताए। अनलाइनबाट सुरु भएको सानो व्यवसायलाई उपभोक्ताको माया र विश्वासले विभिन्न शहर तथा स्थानमा शाखा विस्तार गर्न सफल बनाएको भन्दै जिसीले आगामी दिनमा नेपालका थप स्थानमा सेवा विस्तार गर्ने योजना रहेको बताए।