काठमाडौं। बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो।
गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।
गोरखाकै आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा बाढीका कारण अवरोध सृजना भएकोमा हाल साना सवारी साधन मात्र सुचारु भइरहेका छन्।
कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएकोमा हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ।