शनिबार, कात्तिक ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन

इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन

 |  शनिबार, कात्तिक ७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ७, २०८३

काठमाडौं। बढ्दो महँगी, ऊर्जा सङ्कटलगायतका विषयलाई लिएर शनिबार इटलीमा देशव्यापी प्रदर्शन हुने भएपछि सरकारले प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा पारेको छ। सम्भावित हिंसा र झडप नियन्त्रण गर्न हजारौँ प्रहरी तथा सैनिक परिचालन गरिएका छन् भने निगरानीका लागि मानवरहित विमानसमेत प्रयोग गरिने भएको छ।

युरोन्युजका अनुसार इटलीका रोम, मिलान, बोलोन्या, जेनोआ, टुरिन र फ्लोरेन्सलगायत सहरमा प्रदर्शनको तयारी गरिएको छ। देशभर जुलुस, धर्ना, सभा र हडतालसहित ३० भन्दा बढी कार्यक्रम तय भएका छन्। रोममा करिब १ हजार ५०० र मिलानमा करिब १ हजार ८०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ।

गत अक्टोबर १७ र १८ मा भएका प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो। रोममा सार्वजनिक चोक, रेल्वे स्टेसनलगायतका स्थानमा सुरक्षा जाँच गरिनेछ। प्रहरीले सामाजिक सञ्जालमा भइरहेका गतिविधिमाथि पनि निगरानी राखिरहेको छ। 

इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अघिल्ला प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै सुरक्षाकर्मीप्रति समर्थन जनाएकी छन्। उनले प्रदर्शन गर्नु नागरिकको अधिकार भए पनि सहरमा आगजनी र तोडफोड गर्नु स्वीकार्य नहुने बताएकी छन्।

मेलोनीले विपक्षी दलहरूलाई पनि हिंसात्मक घटनाको स्पष्ट रूपमा विरोध गर्न र शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गर्न आग्रह गरेकी छन्। सरकारले प्रदर्शनका क्रममा पुनः हिंसा भड्किन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ।

प्रकाशित: Oct 24, 2026| 16:12 शनिबार, कात्तिक ७, २०८३
प्रतिक्रिया दिनुहोस्