काठमाडौं। इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई फिलाडेल्फिया युनियनका क्विन सुलिभानलाई थप्पड हानेपछि मेजर फुटबल लिगले जरिवाना गरेको छ।
बुधबार भएको खेलमा इन्टर मियामी र फिलाडेल्फिया युनियनले २-२ गोलको बराबरी खेलेका थिए। खेल सकिनै लाग्दा आफूले बल खेलाएपछि सुलिभानले कुहिनाले प्रहार गरेको भन्दै मेसीले उनको टाउकोको पछाडिको भागमा थप्पड हानेका थिए।
मेसीको थप्पडपछि सुलिभान आक्रोशित बनेका थिए। तर, रेफ्रीले तत्काल हस्तक्षेप गर्दै दुवै खेलाडीलाई अलग गरेका थिए। मेजर फुटबल लिगले मेसीलाई जरिवाना गरिएको पुष्टि गरे पनि जरिवानाको रकम भने सार्वजनिक गरेको छैन।
उक्त खेलमा मेसीले इन्टर मियामीका लागि दोस्रो गोल गरेका थिए। यो गोल उनका बुबाको निधनपछि पहिलो गोलसमेत थियो।
सुलिभानसँग विवादमा परेका मेसी मात्र थिएनन्। इन्टर मियामीका इयान फ्रेले पनि सुलिभानको घाँटी समातेपछि उनलाई समेत लिगले जरिवाना गरेको छ। सुलिभानले पेनाल्टी क्षेत्रभित्र सन्तुलन गुमाएपछि दुवै खेलाडीबीच झगडा हुँदा फ्रेले उनको घाँटी समातेका थिए।
तनावपूर्ण बनेको खेलमा अतिरिक्त समयमा दुई खेलाडीले रातो कार्ड पाएका थिए। इन्टर मियामीका यानिक ब्राइट र सुलिभानका भाइ काभान सुलिभानलाई मैदानबाट बाहिर पठाइएको थियो। यद्यपि, खेलको समीक्षा गरेपछि काभानमाथि लगाइएको एक खेलको प्रतिबन्ध भने फिर्ता लिइएको छ।