सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा-राजपा गठबन्धन : जब प्रम ओलीले उपेन्द्र यादवलाई समय दिएनन्

नेकपा-राजपा गठबन्धन : जब प्रम ओलीले उपेन्द्र यादवलाई समय दिएनन्

राष्ट्रियसभाको आसन्न निर्वाचनमा समाजवादी पार्टीसँग तालमेलका लागि छलफल अगाडि बढाउँदै गरेको राष्ट्रिय जनता पार्टी (राजपा) सँग गठबन्धन गरेर नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले दुई दलबीच फाटो बढाइदिएका छन्।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं– राष्ट्रियसभाको आसन्न निर्वाचनमा समाजवादी पार्टीसँग तालमेलका लागि छलफल अगाडि बढाउँदै गरेको राष्ट्रिय जनता पार्टी (राजपा) सँग गठबन्धन गरेर नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले दुई दलबीच फाटो बढाइदिएका छन्।

राष्ट्रियसभा निर्वाचन र सभामुख चयनका विषयमा समाजवादी र राजपाबीच गत साता छलफल सुरु भएको थियो।

तर, समाजवादी अध्यक्ष उपेन्द्र यादवले खासै चासो देखाएनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको प्रस्तावबमोजिम यस पटक पनि राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस–राजपा–समाजवादीको गठबन्धन कायम राख्नेबारे छलफल गर्न पुगेका राजपा नेताहरुसँग यादवले कांग्रेससँग गठबन्धन नगर्ने संकेत गरे।

त्यसलगत्तै उनी बंगलादेशतिर हिँडे। यादवले चासो नदेखाउनुको कारण थियो, सत्ता साझेदार नेकपासँगै तालमेल गर्ने तयारी।

उपसभामुखमा आफ्नो दलको दाबी प्रस्तुत गर्दै राष्ट्रियसभा निर्वाचनमा नेकपासँग तालमेल गर्ने समाजवादीको योजना थियो।

त्यसैअनुसार शनिबार बंगलादेशबाट फर्केका यादव सोमबार अर्का अध्यक्ष डा.बाबुराम भट्टराईसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगे।

दाहालसँगको छलफलमा यादवले राष्ट्रियसभामा चुनावी तालमेल गर्ने र उपसभामुख आफ्नो दललाई दिइनुपर्ने दाबी गरे।

यादवको प्रस्तावमा सहमति जनाए पनि दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुपर्ने भन्दै मंगलबारसम्म पर्खन भने।

त्यसैअनुसार समाजवादीका अध्यक्षद्वय यादव, भट्टराई र अन्य दुईजना नेता नेकपासँग छलफल गर्न बालुवाटार जाने कार्यक्रम तय भयो। तर, प्रधानमन्त्री ओलीले समय दिएनन्।

उता समाजवादीले तालमेलमा चासो नदिएपछि नेकपासँग तालमेल गर्न चाहेको राजपाका केही नेतासँग प्रधानमन्त्री ओलीले मंगलबार टेलिफोन संवाद गरेका थिए।

प्रधानमन्त्री ओलीसँगको टेलिफोन वार्तापछि राजपा शीर्ष नेतृत्व सकारात्मक बन्यो। बुधबार बालुवाटारमा थप छलफल भयो र नेकपा र राजपाबीच दुई बुँदे सहमति भयो।

प्रधानमन्त्री ओलीको सचिवालयले सहमतिको खाका तयार पारेको थियो।

राजपा अध्यक्षमण्डलका एक सदस्यका अनुसार दाहालले शुक्रबार संघीय संसद अधिवेशनको उद्घाटन सत्र सकेपछि संसद भवनमै हस्ताक्षर गर्ने भने पनि ओली अबेर गर्ने पक्षमा देखिएनन्।

प्रधानमन्त्री ओलीले ‘आजै हस्ताक्षर गरौँ’ भनेपछि बुधबार साँझ नै राजपा र नेकपाको गठबन्धन भयो। ती नेताका अनुसार दाहाल अन्तिम समयसम्म पनि समाजवादीसँगै तालमेल गर्न चाहन्थे।

आन्तरिक सहमति

नेकपा र राजपा अध्यक्ष मण्डलबीच बुधबार साँझ भएको छलफलअनुसार नेकपाभित्र छलफल गरी उपसभामुख राजपालाई दिने अथवा नदिने विषयमा टुंगो लगाइनेछ। जसका लागि बिहीबार अथवा शुक्रबार पुनः नेकपा र राजपाका नेताहरुबीच छलफल हुनेछ।

यसअघिको छलफलमा प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा सहभागी हुन प्रस्ताव गरे पनि त्यसबारे राजपाका नेताहरुले जवाफ दिइसकेका छैनन्।

अध्यक्ष मण्डलका एक सदस्यका अनुसार राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले संविधान संशोधन, मुद्दा फिर्ता लगायतका कुरा उठाउन थालेपछि ओली र अन्य नेताहरुले पछि थप छलफल गर्ने भन्दै बैठक टुंग्याएका थिए।

प्रदेश– २ सरकारलाई चुनौती

राष्ट्रिय सभामा प्रदेश– २ बाट रिक्त हुने चार स्थानका लागि ९ माघमा निर्वाचन हुँदैछ। ती चारमध्ये दुई राजपाका, एक कांग्रेसका र एक समाजवादी पार्टीका सांसद छन्।

राजपा र नेकपाबीच गठबन्धन भइसकेपछि संभवतः नेपाली कांग्रेस र समाजवादीले ती स्थान गुमाउने छन्। प्रदेश– २ मा नेकपा र राजपा मिल्दा चारै स्थान जित्ने पक्का जस्तै छ।

यो गठबन्धन बनेसँगै प्रदेश– २ मा समाजवादी पार्टी नेतृत्वको सरकारलाई पनि चुनौती थपिएको छ। किनभने, प्रदेश २ को १०७ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ५४ जना सांसद आवश्यक हुन्छ। नेकपाका ३२ र राजपाका २५ सांसद जोड्दा यो संख्या नाघ्छ।

दीर्घकालीन सहकार्य गर्न चाहेका नेकपा र राजपा गठबन्धनले प्रदेश– २ मा तत्कालै सरकार बनाउला नबनाउला हेर्न बाँकी नै छ तर, एकीकरणको बाटोमा अघि बढेका दुई मधेशकेन्द्रित शक्तिको बीचमा फाटो ल्याउन भने नेकपा सफल भएको छ।

समाजवादी सक्रिय

नेकपा र राजपाबीच दीर्घकालीन सहकार्य गर्ने सहमति बनेपछि समाजवादीका नेताहरु आक्रोशित देखिएका छन्।

नेकपा र राजपाको गठबन्धन भएलगत्तै समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सकारात्मक देखिए पनि गठबन्धन लामो समयसम्मको लागि बनेको संकेत पाएपछि उनी पनि आक्रोशित भएका छन्।

यसैबीच, समाजवादीका नेताहरुले अब कांग्रेससँग तालमेल गर्ने विषयमा छलफल अगाडि बढाउने भएका छन्। तर, शुक्रबार (भोलि) नै संसदको अधिवेशन सुरु हुँदैछ र समाजवादी संसदीय दलको कुनै छलफल अथवा बैठक बोलाइएको छैन।

प्रकाशित: Dec 19, 2019| 08:56 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।