काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र इरानमाथि प्रतिबन्ध लगाउने कानुनअन्तर्गत प्रस्तावित प्रतिबन्ध, पाबन्दी तथा भन्सार शुल्क कार्यान्वयनबाट छुट दिने आदेश जारी गरेका छन्। उनको निर्णयले रुसी तेल तथा ग्यास खरिद गर्दै आएका भारत र चीनलाई राहत मिलेको छ।
जारी कार्यकारी आदेशमा ट्रम्पले अहिले यस्तो छुट दिनु अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन्। उनले यससम्बन्धी प्रमाणपत्र अमेरिकी संसद्मा पनि बुझाएका छन्। प्रस्तावित प्रतिबन्ध तथा भन्सार शुल्क कार्यान्वयन हुन एक दिनअघि ट्रम्पले यस्तो निर्णय लिएका हुन्।
यो निर्णयलाई रुसप्रति ट्रम्पको नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ। पछिल्लो समय उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सार्वजनिक रूपमा आलोचना गर्दै युक्रेनले नयाँ नेता चयन गर्नुपर्ने सुझावसमेत दिएका थिए।
यसअघि गत साता ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकालाई डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका थिए। उक्त सहमतिअनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल पठाउने र त्यसपछि आगामी महिनाहरूमा थप परिमाणमा आपूर्ति गर्ने उल्लेख गरिएको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र रुसबीच भएको डिजेल आपूर्ति सम्झौताको आलोचना गरेका थिए। उनले यसलाई अमेरिकाका साझेदारहरूका लागि अनुचित र कमजोर निर्णय भन्दै रुसले युक्रेनमाथि आक्रमण जारी राखेर आफ्नो कृतज्ञता देखाइरहेको आरोप लगाएका थिए।
यसअघि रुसबाट कच्चा तेल खरिद गरेको विषयलाई लिएर भारत र अमेरिकाबीच तनाव बढेको थियो। त्यसबेला ट्रम्पले भारतमाथि रुसबाट तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार शुल्क लगाएका थिए। उक्त शुल्क पहिलेबाट लागू २५ प्रतिशत प्रतिशोधात्मक शुल्कभन्दा अतिरिक्त थियो।
तर, सन् २०२६ को फेब्रुअरीमा अतिरिक्त शुल्क हटाइएको थियो। भारत–अमेरिका व्यापार संरचनाअन्तर्गत प्रतिशोधात्मक शुल्क पनि घटाएर १८ प्रतिशत कायम गरिएको थियो।