काठमाडौं- युक्रेनी सेनाले प्रयोग गर्दै आएको स्टारलिंक र सैन्य प्रयोजनको स्टारसिल्ड उपग्रह इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको विषयलाई लिएर अमेरिकामा विवाद चर्किएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको इन्टरनेट पहुँच सीमित गर्ने आदेश आफूले नदिएको बताएका छन्।
स्पेसएक्सका प्रमुख एलन मस्कले भने स्टारसिल्ड प्रणालीको स्वामित्व र नियन्त्रण अमेरिकी सरकारसँग रहेको बताएका छन्।
समाचार संस्था सीएनबीसीका अनुसार पूर्वसूचनाबिना इन्टरनेट सम्पर्क सीमित गरिँदा युक्रेनी सेनाका केही सैन्य अभियान प्रभावित भएका छन्। यसबाट ड्रोन सञ्चालन, निगरानी र सैन्य सूचनाको आदानप्रदानमा समेत असर परेको बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले प्रतिबन्धबारे सेनालाई पूर्वजानकारी नदिइएको र यसका कारण केही सैन्य अभियान असफल भएको बताएका छन्।
यस घटनापछि पोल्याण्डका उपप्रधानमन्त्रीले पनि मस्कको भूमिकामाथि प्रश्न उठाएका छन्। उनले प्रविधिको प्रयोग राजनीतिक उद्देश्यका लागि भइरहेको हो कि भन्ने आशंका व्यक्त गरेका छन्। तर प्रतिबन्ध कसले लगाएको हो र यसको वास्तविक दायरा कति हो भन्ने विषय अझै स्पष्ट भएको छैन।