शनिबार, असोज ३१, २०८३

बडादसैंको सप्तमी आज: शुभसाइतमा फूलपाती भित्र्याइँदै

 |  शनिबार, असोज ३१, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३१, २०८३

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिले फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन्। सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको समितिले जानकारी दिएको छ।

केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्। फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ। फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद्हरु बताउछन्।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ। आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ।

बडादशैंको टीकाको शुभ साइत:
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ। त्यसपछि कार्तिक ३ गते मंगलबार महानवमी तथा विजयादशमीका प्रमुख धार्मिक विधि सम्पन्न हुनेछन्।

विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकिएको छ। त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११" ५२ बजेको समय तोकिएको छ।

समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ। यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ।

प्रकाशित: Oct 17, 2026| 06:14 शनिबार, असोज ३१, २०८३
प्रतिक्रिया दिनुहोस्