काठमाडौं- आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मका १७ जना विजेताको कुपन नम्बर सार्वजनिक गरेको छ।
विभागका अनुसार १६ जना विजेताले जनही एक लाख रुपैयाँ र एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार जितेका छन्। कर कट्टीपछि नियमित विजेताले जनही ७५ हजार रुपैयाँ र बम्पर विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यसपटक तीन हजार रुपैयाँको कपडा खरिद गर्ने एक जना उपभोक्ता बम्पर पुरस्कारका लागि छनोट भएका छन्। नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी हुन्।
लोकप्रिय कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले विजेताको घोषणा गरेका थिए। कार्यक्रममा सहभागी उपभोक्ताले अनलाइनमार्फत आफ्नो बिल वा कुपनको विवरण जाँच गरी नतिजा हेर्न सक्नेछन्।