शनिबार, असोज ३१, २०८३

विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक

 |  शनिबार, असोज ३१, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३१, २०८३

काठमाडौं- पश्चिम एसियामा इरानका आक्रमण, साउदी अरबमाथि हुथी विद्रोहीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण र रुस–युक्रेन युद्ध चर्किएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ।

शुक्रबार ब्रेन्ट कच्चा तेलको मूल्य ३.७ प्रतिशत बढेर प्रतिब्यारेल १०९.८६ अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्ल्यूटीआई तेलको मूल्य ३.५ प्रतिशत बढेर १०१.४१ डलर पुगेको छ। एक सातामा डब्ल्यूटीआईको मूल्य १० प्रतिशतभन्दा बढी बढेको छ।

विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरुमा कम्तीमा नौवटा व्यापारिक जहाज तथा तेल ट्याङ्करमाथि आक्रमण भएको छ। यसका कारण तेल निर्यात प्रभावित भएको छ। होर्मुजबाट कच्चा तेलको निर्यात घटेर दैनिक ९४ लाख ब्यारेलमा झरेको छ, जुन युद्धअघिको औसतको करिब ७० प्रतिशत हो।

यसैबीच, साउदी अरबका तेल केन्द्रमाथि पनि आक्रमण भएका छन्। शुक्रबार साउदी सेनाले लाल सागरमाथि आएका कैयौँ क्षेप्यास्त्र रोकेको थियो भने रियाद र दक्षिणी क्षेत्रमा तीनवटा ड्रोन नष्ट गरेको जनाएको छ। यसअघि धहरानस्थित साउदी तेल कम्पनी अरामकोको प्रशासनिक भवनमा समेत आक्रमण भएको थियो।

रुस–युक्रेन युद्ध पुनः चर्किनुले पनि ऊर्जा बजारमा दबाब बढाएको छ। रुसका आक्रमण जारी रहेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रमाथि पुनः आक्रमण गर्ने बताएका छन्। अमेरिकामा डिजेलको औसत मूल्यसमेत प्रतिग्यालोन ६.३३ डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा ७० प्रतिशतभन्दा बढी हो।

तेल उत्पादन र ढुवानीमा अवरोध जारी रहेमा विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बढ्न सक्ने चिन्ता बढेको छ। आपूर्ति घट्दा इन्धनको मूल्यसँगै ढुवानी तथा उत्पादन लागतसमेत बढ्न सक्ने भएकाले यसको असर विश्व अर्थतन्त्रमा पर्न सक्ने देखिएको छ।

प्रकाशित: Oct 17, 2026| 13:01 शनिबार, असोज ३१, २०८३
प्रतिक्रिया दिनुहोस्