आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तीन वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण : प्रधानमन्त्री प्रचण्ड

तीन वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण : प्रधानमन्त्री प्रचण्ड

सुक्खा बन्दरगाह निर्माणपछि नेपाल, भारत र चीन तीन वटै मुलुकले लाभ लिन सक्ने प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुक्खा बन्दरगाह त्रिदेशीय रणनीतिअनुसार निर्माण हुने बताएका छन्। सोमबार प्रस्तावित सुक्खा बन्दरगाह निरीक्षणका लागि कञ्चनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका हुन्।

National life

‘सुक्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ। हामी भारत र चीनको विकासबाट लाभ लिने उपायको खोजीमा छौं। यो रणनीति अघि बढाउन बन्दरगाहले सहयोग पुर्‍याउने विश्वास छ’, प्रधानमन्त्री प्रचण्डले भने।

उनले सुक्खा बन्दरगाहले नेपाल, भारत र चीन तीन वटै देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले सुक्खा बन्दरगाह निर्माणलाई उच्च प्राथमिकता दिइएको बताए। हालै यसको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सकिएकाले समयमै निर्माण पूरा हुने विश्वास उनले व्यक्त गरे। 

‘एमओयूमै भारत सरकारले तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण गर्ने भनिसकेकाले खुसी लागेको छ। यसबाट सुदूरपश्चिमका साथै मुलुकको विकासमा ठूलो योगदान पुग्नेछ’, उनले भने।

दोधारा–चाँदनी नगरपालिका–१, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाहको ईआईएमा सुझाव माग गरेको छ। 

प्रस्तावित आयोजनाले वन क्षेत्रको १८९ हेक्टर जग्गा भू–उपयोग परिवर्तन हुने भनी प्रस्ताव गरेको छ। सुक्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ क्षेत्र, भन्सार, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपक्षी/खाद्य जाँच केन्द्र प्रयोगशाला, बैंक, प्रहरी केन्द्र तथा प्रशासनिक भवन निर्माण हुनेछन्। 

गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर, निर्यातका लागि २ हजार ५ सय वर्गमिटर, रेल्वे वेयर हाउस १७ हजार ५ सय वर्गमिटर र १० हजार वर्गमिटर क्षेत्रफलको कन्टेनर स्ट्याकिङ यार्ड निर्माण हुनेछ।

प्रकाशित: Feb 13, 2023| 15:26 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्