काठमाडौं । रसुवा–भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रोफेसनल होल्डिङ्स् लिमिटेडको निर्णयअनुसार ग्लोबल ग्रुपअन्तर्गतका विभिन्न युनिटबाट यसअघि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको २१ लाख रुपैयाँ बाहेक भ्याली भ्यु स्कुल, मध्य–बानेश्वर, काठमाडौं परिवारका तर्फबाट थप ५ लाख १ हजार १११ रुपैयाँ सहयोग प्रदान गरिएको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै पुनर्स्थापना तथा मानवीय सहयोगमा योगदान पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराइएको संस्थाका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझाले जानकारी दिएका छन्।
जिल्ला प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्ट, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर तथा प्याब्सनका पदाधिकारीहरूको उपस्थितिमा विद्यालयका तर्फबाट प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले बैंक भौचर हस्तान्तरण गरेका हुन्।
उक्त थप सहयोग रकम प्याब्सन राहत कोषमार्फत प्रधानमन्त्री राहत कोषमा एकमुष्ठ रूपमा जम्मा गरिने प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले जानकारी दिएका छन्। प्रधानमन्त्री राहत कोषमा प्याब्सनले १२ करोड जम्मा गरिसकेको र फेरि पनि रकम सङ्कलन भइरहेको उनले बताए।
यस किसिमको मानवीय कार्यमा आ–आफ्नो तर्फबाट सहयोग तथा योगदान पुर्याउने सम्पूर्ण दाता, शिक्षक–कर्मचारी, यातायात समूह, होस्टेल व्यवस्थापन तथा विद्यार्थीहरूप्रति भ्याली भ्यु स्कुल परिवारका तर्फबाट प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले हार्दिक कृतज्ञता ज्ञापन गरेका छन्।
रसुवा–भोटेकोसी क्षेत्रमा आएको बाढीबाट जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकाय, विभिन्न संघसंस्था, निजी क्षेत्र तथा समुदायबाट सहयोग जुटिरहेको छ।