बुधबार, भदौ ३१, २०८३

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति छ ?

 |  बुधबार, भदौ ३१, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०८३

काठमाडौं- असोज महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नहुँदा बैंकहरूले निक्षेपको ब्याजदरमा थप कटौती गरेका छन्। 

असोज महिनाका लागि २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। यो भदौ महिनाको औसत ४.१३६ प्रतिशतको तुलनामा ०.०४६५ प्रतिशतले कम हो। त्यस्तै संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि घटेको छ। 

भदौमा ३.०८१ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत ब्याजदर असोजमा ०.०१४५ प्रतिशतले घटेर ३.०६६५ प्रतिशतमा झरेको छ।असोजमा निक्षेपको ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंक अगाडि रहेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५५ प्रतिशतले घटाएर ३.५० प्रतिशतमा झारेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.२५ प्रतिशतले घटाएर ३.२५ प्रतिशत कायम गरिएको छ। नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३० प्रतिशतले घटाएर ४.२५ प्रतिशतमा कायम गरेको छ। यद्यपि, संस्थागत निक्षेपतर्फको ब्याजदर भने ३।०१ प्रतिशतमा यथावत राखेको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, कुमारी बैंकले व्यक्तिगततर्फको ब्याजदर ०.०३ प्रतिशतले घटाएर ३.७३ प्रतिशतमा झारेको छ। सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाउँदै २.७५ प्रतिशत कायम गरेको छ। 

अर्कोतर्फ, सानिमा बैंकले भने संस्थागत निक्षेपको ब्याजदर बढाएको छ। बैंकले संस्थागततर्फको दर ०.२१ प्रतिशतले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ। व्यक्तिगत निक्षेपतर्फ भने ४.५० प्रतिशतको ब्याजदरलाई नै निरन्तरता दिएको छ। व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ। यस्तै, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायत १५ वटा बैंकले असोज महिनामा व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। समग्रमा हेर्दा बैंकिङ प्रणालीमा पर्याप्त तरलता र कर्जाको मागमा अपेक्षित वृद्धि नहुँदा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रमलाई असोजमा पनि निरन्तरता दिएका छन्।

प्रकाशित: Sep 16, 2026| 14:03 बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्