बिहीबार, कात्तिक १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चालू आर्थिक वर्षको तीन महिनामा १६ अर्ब २३ करोडको एफडीआई स्वीकृत

चालू आर्थिक वर्षको तीन महिनामा १६ अर्ब २३ करोडको एफडीआई स्वीकृत

 |  बिहीबार, कात्तिक १२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ। चालू आवको साउन देखि असोज मसान्तसम्म उक्त वैदेशिक लगानीको प्रतिवद्धता स्वीकृत भएको हो।

उद्योग विभागका अनुसार चालू आवको साउनदेखि असोजसम्म कुल चार सय २२ उद्योग दर्ता भएका छन्। जसमा उक्त रकम बराबर लगानी प्रतिबद्धता आएको छ। गत आव २०८२/०८३ असोजसम्म ३५ अर्ब १३ करोड बराबर एफडीआई स्वीकृत भएको छ।

यस वर्ष लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ।उद्योग विभागका अनुसार असोजसम्म अटोमेटिक रुटबाट चार सय १० र अप्रुभल रुटबाट १२ उद्योग दर्ता हुन आएका छन्। असोजमा मात्र पाँच अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको छ। यस महिना कुल ९४ उद्योग दर्ता भएका छन्। जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता हुन आएको देखिन्छ।

असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन्। साना उद्योग चार सय १७, मझौला दुई र ठूला तीन मात्र दर्ता भएको विभागले जनाएको छ। असोजमा आएका सबै उद्योग साना प्रकृतिका थिए।

यस वर्ष स्वीकृत लगानीमा संख्यात्मक रूपमा सूचना प्रविधिमूलक उद्योगको बाहुल्य छ। कुल दुई सय ५२ उद्योग सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन्।

त्यस्तै पर्यटनमूलक उद्योग एक सय आठ, सेवामूलक ३३, उत्पादनमूलक २५ र ऊर्जा तथा कृषिमा दुई÷दुई उद्योग दर्ता भएको विभागले जनाएको छ।रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ। पर्यटनमा कुल ६ अर्ब आठ करोड लगानी स्वीकृत भएको छ।

ऊर्जामा चार अर्ब र पूर्वाधारमूलक उद्योगमा तीन अर्ब ५७ करोड एफडीआई स्वीकृत भएको छ।उत्पादनमूलक उद्योगमा एक अर्ब ६० करोड र सूचना प्रविधिमूलकमा ९२ करोड ८३ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ।

प्रकाशित: Oct 29, 2026| 15:50 बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्