रेसुंगा- गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यही उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौंतारिरहेका छन्। विपना भने तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाइरहेकी छन्।
बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन्। बजारमा चियाको मूल्य २५ भए पनि विपनाले एक कप चिया २० का दरले बेच्छिन्।
‘चिया बेचेर दैनिक तीन हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घरखर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छु।’ विपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि औसत कमाइ तीन हजार भएको बताइन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि उनी पढ्न तम्घास आएकी हुन्। उनले रेसुंगा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काइन्। यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोचिन्। उनको सोच जागिरभन्दा पनि आफैंले केही गरौँ भन्ने भयो। यसपछि चिसो तम्घासमा तातो चिया बेच्न सुरु गरिन्।
मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गरिन्। तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छन्।
अनुभव संगाल्ने भनेर चिया बेच्न सुरु गरेको उनले बताइन्। ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरता दिएँ’, उनी भन्छिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन।’ तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीन रूपमा निरन्तरता दिने उनको भनाइ छ।
आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उनले बताइन्। उनी बिहान ६ बजे बजारमा चिया बेच्न निस्किन्छिन्। त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्किन्छिन्। तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताइन्। आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको उनले सुनाइन्।
उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ हुन्छ। कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन्। कार्यक्रममा उपस्थितले विपनाको खुलेर प्रशंसा गर्छन्।
उनी उपल्लो तम्घासमा रहेको मामाघरमा बस्छिन्। उनले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताइन्। विपनाका बुवा हरिबहादुर कृषक हुन् भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका। चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको बरु सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ।
विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छिन्। उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन्। लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ। विपना अहिले रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।