शुक्रबार, साउन १५, २०८३

टी-२० विश्वकप छनोट

नेपालले ओमानलाई हरायो, अपराजित यात्रा कायमै

 |  बिहीबार, असोज ३०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ३०, २०८२

काठमाडौं- आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो।

ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए। यस्तै, मोहम्मद नदीमले २५ रन बनाए। नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिए।

त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए। आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे। गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई/दुई विकेट लिए।

यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ। नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ।

 

अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ।

प्रकाशित: Oct 16, 2025| 07:10 बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्