शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पाँच वर्षदेखि पुगेन उपल्लो डोल्पामा आयोडिनयुक्त नुन

पाँच वर्षदेखि पुगेन उपल्लो डोल्पामा आयोडिनयुक्त नुन

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन पाउन सकेका छैनन्।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९

जाजरकोट– प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन। 

National life

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीय मर्कामा पर्दै आएका छन्। 

उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो। सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने ठूलो छ। 

तीन गाउँपालिका रहेको यस उच्च हिमाली क्षेत्रमा वर्षमा एउटा मात्रै बाली उत्पादन हुन्छ। त्यसैले तीन वटै पालिकामा खाद्यान्न पु¥याउने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको छ।

कम्पनीले यस क्षेत्रमा खाद्यान्न बिक्री केन्द्र समेत राखेको छ। 

Shivam cement

मोटर गाडीको पहुँच नभएकाले यी क्षेत्रमा घोडा, खच्चड र चौंरीको सहायताले आवश्यक सामग्री ढुवानी गरिने शे–फोक्सुन्डो गाउँपालिकाकी प्रेम गुरुङले बताइन्। ‘यो वर्ष हिमपात सुरु भइसकेको छ। केही समयभित्र नाका पनि बन्द हुन्छन्’,  उनले भनिन्, ‘वर्ष दिनदेखि ठेकेदारहरुले चामल नल्याएका कारण डिपोमा एक दाना चामल पनि छैन।’ 

यस क्षेत्रमा चिनियाँ भू–भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुनसमेत पाँच वर्षदेखि आउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन डोल्पाका प्रमुख प्रकाश धामीले बताए। 

यो वर्ष पनि सदरमुकाम बाहिरका बिक्री केन्द्रमा हवाइमार्गमार्फत आयोडिनयुक्त नुन ढुवानीका लागि ५ भदौमा बोलपत्र आह्वान गरिए पनि अहिलेसम्म नुन पुग्न सकेको छैन। नेपालगञ्जबाट काइगाउँ बिक्री केन्द्रमा २०० क्विन्टल, सर्मी बिक्री केन्द्रमा २०० क्विन्टल र लिकु बिक्री केन्द्रमा २०० क्विन्टल नुन ढुवानी गर्ने कोटा निर्धारण गरिएको थियो।

पाँच वर्षअघि तिब्बत हुँदै ढुवानी गरिएको नुन अनुगमनका क्रममा तेन्जे नाकामा जथाभावी फालिएको अवस्थामा फेला परेको थियो। नुन र खाद्यान्न ढुवानीका लागि कुनै पनि चासो नलिएको भन्दै जनप्रतिनिधि र सरकारी निकायप्रति उपल्लो डोल्पाबासी सर्वसाधारणले गुनासो गरिरहेको डोल्पोबुद्ध गाउँपालिका–३ का पुटी गुरुङको भनाइ छ। ‘समय हुँदासम्म ढुवानी हुँदैन। पछि हिमपातले बाटो अवरुद्ध भएपछि बाटो बन्द भयो भन्दै खाद्यान्न ढुवानी गरिँदैन। यो समस्या जहिले पनि रहन्छ’, उनले भनिन्। 

सरकारले सहुलियतमा उपलब्ध गराउने नुन र चामल आपूर्ति नहुँदा नागरिकले सदरमुकाम दुनै बजारबाट महँगोमा खरिद गर्न बाध्य छन्।–रासस


प्रकाशित: Oct 26, 2022| 13:30 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्