काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाई सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको हो।
प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी संलग्न संवैधानिक इजलासले महाभियोग प्रकरणको रिट खारेज गरिदिएको छ।
पूर्वप्रधानन्यायाधीश राणामाथिको महाअभियोग जीवितै रहेको दाबी गर्दै प्रतिनिधि सभामा अघि बढाउन माग गरिएको थियो। राणाविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता भएपनि महाअभियोग प्रस्ताव भने पारित भएको थिएन।
संघीय संसदका तत्कालिन महासचिव भरतराज गौतमले राणालाई निलम्बन फुकुवाको पत्र दिएपछि सर्वोच्च अदालत बारका तत्कालिन अध्यक्ष वरिष्ठ आधिवक्ता शाक्य, वरिष्ठ अधिवक्ता डा.पुण्यप्रसाद खतिवडा, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले सर्वोच्चमा भिन्नाभिन्नै रिट निवेदन दायर गरेका थिए।