आइतबार, कात्तिक ८, २०८३

प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित, आर्सनल विजयी

 |  आइतबार, कात्तिक ८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ८, २०८३

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको छ भने आर्सनलले एभर्टनलाई २–० गोलले हराएको छ। 

गएराती सम्पन्न खेलमा एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा निकोलस ज्याक्सनले दुई गोल गरेपछि भिल्लाले सिटीमाथि जित निकालेको थियो। ज्याक्सनले खेलको छैटौँ मिनेटमा गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सातौँ मिनेट अर्थात् ५२औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए। तर, ६०औँ मिनेटमा ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि भिल्लाले पुनः अग्रता लियो र  त्यसपछि सिटीले गोल फर्काउन नसक्दा भिल्ला २–१ ले विजयी भयो। 

यो हारसँगै सिटीको लिगमा जारी अपराजित यात्रा टुङ्गिएको छ। भिल्लाले भने लगातार तेस्रो लिग खेलमा सिटीलाई पराजित गरेको छ।

त्यस्तै, गएराती नै सम्पन्न अर्को खेलमा आर्सनलले एभर्टनलाई २–० गोलले पराजित गर्दै लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अङ्क बराबरी गरेको छ। आर्सनलको घरेलु मैदानमा भएको खेलमा एज्री कोन्साले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले मार्टिन ओडेगार्डको कर्नरपछि बनेको अवसरमा गोल गरेका थिए। दोस्रो हाफको ६८औँ मिनेटमा गाब्रिएलले बेन ह्वाइटको क्रसमा हेडरमार्फत गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे।  

यस जितसँगै आर्सनलले आठ खेलबाट २१ अङ्क जोडेको छ र लिगमा दोस्रो स्थानमा छ। समान खेलबाट २१ अङ्क रहेको म्यानचेस्टर सिटी गोल अन्तरका आधारमा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी एभर्टन भने लगातार दोस्रो लिग खेलमा पराजित भएको छ र ८ खेलमा १० अंकसहित  आठौँ स्थानमा रहेको छ।

प्रकाशित: Oct 25, 2026| 09:03 आइतबार, कात्तिक ८, २०८३
प्रतिक्रिया दिनुहोस्