काठमाडौं- एप्पलले आइफोन सार्वजनिक भएको करिब २० वर्षपछि यसको डिजाइनमा ठूलो परिवर्तन गर्दै पहिलो पटक मोड्न मिल्ने आइफोन सार्वजनिक गरेको छ। कम्पनीका प्रमुख कार्यकारी जोन टर्नसले वार्षिक उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्ड आइफोन सार्वजनिक गरेका हुन्।
‘डुओ’ नाम दिइएको नयाँ आइफोन किताबजस्तै गरी बीचबाट मोड्न र खोल्न मिल्ने छ। खोल्दा सानो आइप्याडजस्तो देखिने यो उपकरण मोडेपछि फराकिलो आइफोनको आकारमा देखिन्छ। कम्पनीका अनुसार यो अहिलेसम्मकै ठूलो आइफोन हो।
अमेरिकामा यसको प्रारम्भिक मूल्य १ हजार ९९९ अमेरिकी डलर तोकिएको छ भने उच्च क्षमताको संस्करणको मूल्य ३ हजार २०० डलरसम्म पुग्नेछ।
जुन आजको विनिमयदर अनुसार ३ लाख ४ हजार २२८ नेपाली रुपैयाँ छ भने उच्च संस्करणको नेपाली मुल्य ४ लाख ८७ हजारसम्म रहेको छ।
टर्नसले नयाँ आइफोनको डिजाइन आइप्याडबाट प्रेरित भएको बताएका छन्। उनले मोड्ने प्रविधिलाई सहज र प्रयोग गर्न सजिलो रहेको दाबी गरेका छन्। एप्पलले बजारमा रहेका अन्य फोल्ड फोनभन्दा फरक अनुभव दिने गरी नयाँ उपकरण तयार गरेको जनाएको छ।
एप्पलले यो फोल्ड आइफोनमा केही वर्षदेखि काम गर्दै आएको थियो। टर्नस एप्पलको उपकरण विकास विभागमा लामो समय उच्च जिम्मेवारीमा रहेका कारण यसको विकासमा प्रत्यक्ष रूपमा संलग्न थिए। उनी टिम कुकको उत्तराधिकारीका रूपमा हालै एप्पलको प्रमुख कार्यकारी बनेका थिए।
प्रविधि क्षेत्रका विश्लेषकहरूले टर्नसलाई प्रमुख कार्यकारी बनाउने समय र नयाँ फोल्ड आइफोनको सार्वजनिक समयबीच सम्बन्ध रहेको बताएका छन्। उनीहरूका अनुसार एप्पलका लागि यो पछिल्ला धेरै वर्षयताकै महत्वपूर्ण आइफोन सार्वजनिक कार्यक्रममध्ये एक हो।
एप्पलले यससँगै आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स पनि सार्वजनिक गरेको छ। अमेरिकामा यी दुईको प्रारम्भिक मूल्य क्रमशः १ हजार १९९ र १ हजार २९९ अमेरिकी डलर तोकिएको छ।
तर महँगो मूल्यका कारण फोल्ड आइफोन एप्पलको सीमित प्रयोग हुने महँगो उपकरण बन्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ। एप्पलको भिजन प्रो जस्तै यो उत्पादनले पनि अपेक्षित बजार नपाउन सक्ने विश्लेषकहरूको आकलन छ। अर्कोतर्फ, एप्पल वाचजस्तै विस्तारै ठूलो प्रयोगकर्ता समूह बनाउन सक्ने सम्भावना पनि रहेको उनीहरूको भनाइ छ।
हाल सामसुङ र हुवावेजस्ता कम्पनीका फोल्ड फोनले विश्वको कुल स्मार्टफोन बिक्रीमा करिब २ प्रतिशत हिस्सा ओगटेका छन्। एप्पलको प्रवेशपछि माग बढे पनि आगामी दशकमा यस्तो फोनको हिस्सा करिब ४ प्रतिशतसम्म मात्र पुग्न सक्ने अनुमान गरिएको छ।
यसैबीच एप्पलले कृत्रिम बौद्धिकतामा आधारित आफ्नो आवाज सहायक सिरीमा पनि ठूलो सुधार गर्ने घोषणा गरेको छ। आइफोन १८ बाट सिरीले फोनभित्र रहेका सन्देश, इमेललगायत जानकारी खोजेर प्रश्नको उत्तर दिनुका साथै प्रयोगकर्ताको तर्फबाट केही कामसमेत गर्न सक्ने भएको छ।
नयाँ सिरीका केही सुविधा एप्पल घडीमा समेत उपलब्ध हुनेछन्। प्रयोगकर्ताले अनुमति दिएमा घडीले कुराकानी टिपोट गर्नुका साथै त्यसलाई लेखिएको रूपमा उतार्न सक्नेछ।
टर्नसले आइफोनमा थपिएका कृत्रिम बौद्धिकता सुविधालाई प्रयोगकर्ताको व्यक्तिगत सूचना केन्द्रका रूपमा व्याख्या गरेका छन्। उनले प्रयोगकर्ताको दैनिक जीवनसँग सम्बन्धित अत्यन्त निजी जानकारी प्रयोग हुने भए पनि ती जानकारी सुरक्षित रहने दाबी गरेका छन्।
उनका अनुसार अधिकांश कृत्रिम बौद्धिकता सुविधा उपकरणमै सञ्चालन हुनेछन्। बाह्य प्रणाली आवश्यक पर्ने अवस्थामा समेत जानकारी सुरक्षित रूपमा राखिने र एप्पलले समेत प्रयोगकर्ताको व्यक्तिगत जानकारीमा पहुँच नपाउने उनले बताएका छन्।