बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

 |  बिहीबार, भदौ २५, २०८३

दानबहादुर बुढा

दानबहादुर बुढा

बिहीबार, भदौ २५, २०८३

मुगु- अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग अन्तर्गतको नाग्म–गमगढी र झ्यारी–गमगढी सडक खण्ड विगत २० दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। विकट भूगोल र निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो। 

लामो समयदेखि यातायात ठप्प हुँदा जिल्ला सदरमुकाम गमगढीसहित आसपासका ग्रामीण भेगमा खाद्यान्न, खाना पकाउने एलपी ग्यास, निर्माण सामग्री तथा औषधिजस्ता अत्यावश्यक वस्तुको चरम अभाव सिर्जना भएको छ। बजारमा ग्यास र खाद्यान्न सकिएपछि सर्वसाधारणको भान्सादेखि होटेल व्यवसायसमेत नराम्ररी प्रभावित भएका छन्। 

सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट दैनिक उपभोग्य तथा निर्माणका सामग्री लिएर आएका सयौँ मालबाहक सवारी साधनहरू बाटोमै रोकिएका छन्। राजापुरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल बोकेर आएका ९ वटा ट्रकसहित स्थानीय व्यापारीका गाडीहरू झ्यारी खोला र ताल्चाको बीचमा अलपत्र परेका हुन्। हप्तौँदेखि बाटोमै थुनिएका चालक तथा सहचालकहरू सडक र अस्थायी छाप्रामा कष्टकर बास बस्न बाध्य छन्। 

‘सडक बन्द हुँदा मुगुबाट बाहिर निकासी गर्न लागिएको २० देखि २५ लाख रुपैयाँ बराबरको स्याउ गाडीमै अड्किएर कुहिन थालेको छ। स्याउ कुहिएर गन्हाउन थालेपछि हामी व्यापारीहरूले लाखौँको घाटा व्यहोर्नुपरेको छ,’ स्थानीय व्यापारी कर्णबहादुर बुढाले भने। 

सडक स्तरोन्नतिका नाममा निर्माण व्यवसायीले जथाभावी ‘डबल कटिङ’ गर्दा कमजोर बनेको पहाड खसेर पहिरो गएको स्थानीयको आरोप छ।

यस्तै स्थानीय नरेन्द्रबहादुर शाहीले अव्यवस्थित डोजर आतंकका कारण सडक मात्र नभई आसपासका बस्ती र जमिनसमेत उच्च जोखिममा परेका छन्।

‘जथाभावी बाटो खन्दा गएको पहिरोले घरजग्गा नै बगाइदियो। अहिले मेरो ६ जनाको परिवार पूर्ण रूपमा बिचल्लीमा परेको छ। एकातिर हामी घरबारविहीन बनेका छौँ, अर्कोतिर सडक डिभिजन र प्रशासनले समयमै पहिरो पन्छाउन पर्याप्त मेसिन र जनशक्ति नै खटाएको छैन,’ उनले भने। 

यता सडक आयोजना कार्यालयले भने प्रतिकूल मौसम र जटिल भूगोलका कारण काममा केही ढिलाइ भएको जनाएको छ।

नाग्म–गमगढी–नाक्चेलाग्ना सडक आयोजनाका प्रमुख नन्दराज गिरीले जोखिमयुक्त ठाउँहरूमा मेसिनहरू निरन्तर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको बताए। 

‘निरन्तरको वर्षा, जटिल भौगोलिक बनावट र ठेकेदारको ढिलासुस्तीका कारण सडकको पहिरो पन्छाउन केही ढिलाइ भएको हो। यद्यपि, जोखिमयुक्त ठाउँहरूमा मेसिनहरू निरन्तर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ। मौसमले साथ दिएमा आगामी केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ,’ उनले भने। 

स्थानीयवासी, व्यापारी र अलपत्र गाडी चालकहरूले भने प्रदेश सरकार, सडक डिभिजन तथा स्थानीय प्रशासनलाई तत्काल प्रभावकारी समन्वय गरी ठूला उपकरण परिचालन गरेर सडक खुलाउन माग गरेका छन्।
 

प्रकाशित: Sep 10, 2026| 06:33 बिहीबार, भदौ २५, २०८३
प्रतिक्रिया दिनुहोस्