काठमाडौं- नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ। आज बिहान ६:० बजेसम्मको तथ्याङ्कअनुसार बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन्।
गोरखाको आरुघाट गाउँपालिका वडा नं. २, ३ र सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुलस्थित सोतीमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ।
आरुघाट गाउँपालिका वडा नं.९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन्।
पहिरोका कारण बराहताल गाउँपालिका वडा नं. ७ औंलिसेस्थित कर्णाली राजमार्ग प्रभावित भएको थियो। हाल उक्त राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ।